मंसिर ४ पछि बन्ने एमालेको सरकारले वृद्धभत्ता ५ हजार पुर्‍याउँछ : ईश्वर पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको प्रमुख राजनीतिक सल्लाहकार भएका बेला अरू पार्टीको निकै विरोधका बाबजुद पनि आफूहरूले वृद्धभत्ता सुरुवात गरेको बताएका छन्।

काठमाडौंको धापासीमा बुधबार ज्येष्ठ नागरिकसँगको अन्तरक्रिया कार्यक्रममा पोखरेलले तत्कालीन समयमा विभिन्न दलका कयौँ विरोध र अवरोध सामना गर्दै नेकपा एमालेले वृद्धवृद्धालाई भत्ता दिन सुरुवात गरेको बताएका हुन्।

ज्येष्ठ नागरिकको हकहितका लागि आवाज उठाउने पहिलो पार्टी नेकपा एमाले भएको उनले बताए। २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारले ज्येष्ठ नागरिकलाई भत्ता दिन सुरु गर्दा विरोध भएको भन्दै पोखरेलले भने, ‘अन्य दलका कयौँ विरोध र अवरोधलाई छल्दै ज्येष्ठ नागरिकलाई सम्मानपूर्वक बाँच्न सक्ने बनाउनु सरकारको दायित्व हो भनेर हामीले एक सय रुपैयाँ भत्ता दिन सुरु गरेका थियौँ। तर, कांग्रेसलगायत पार्टीले यसरी भत्ता दिँदा राज्यको ढुकुटी रित्तिन्छ भन्दै घोर विरोध गरेका थिए। तर, ज्येष्ठ नागरिकको सम्मान गर्ने एमालेको स्वच्छ उद्देश्यलाई अनेक विरोध सहेर पनि स्थापित गरिएको छ। ज्येष्ठ नागरिकहरू आज समाजमा सम्मान र इज्जतका साथ बाँचिरहनुभएको छ।’

केपी ओली नेतृत्वको सरकारले भत्ता बढाएर ५ हजार रुपैयाँ पुर्‍याउने योजना बनाएको भए पनि बीचमै सरकारबाट हट्नु परेकाले योजना पूरा गर्न नपाएको पोखरेलको भनाइ छ। उनले मंसिर ४ काे चुनावपछि एमालेकाे सरकार बन्ने र त्यसले वृद्धभत्ता ५ हजार रूपैयाँ पुर्‍याउने बताए ।

ज्येष्ठ नागरिकलाई बोझको दृष्टिले हेर्ने गरेकोमा एमालेले उनीहरूलाई सम्मान दिनुपर्छ भनेर समाजमा चेतना फैलाउने काम गरेको पनि पोखरेलले बताए। पोखरेल २०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको प्रमुख राजनीतिक सल्लाहकार थिए।

आगामी मंसिर ४ को निर्वाचनका लागि एमालेले जारी गरेको घोषणापत्रमा पनि ज्येष्ठ नागरिकको हकहितका लागि धेरै एजेण्डा समेटिएकाले ज्येष्ठ नागरिकको हितका लागि पनि एमालेले आगामी निर्वाचन जित्नुपर्ने वरिष्ठ उपाध्यक्ष पोखरेलले बताए। ज्येष्ठ नागरिकहरूले पोखरेलसँग आफूहरूलाई एउटा भवन आवश्यक रहेको तथा भवनमा भजनकीर्तन र जमघट गर्ने व्यवस्था मिलाइदिन आग्रह गरेका थिए।

नेकपा एमालेको सरकार बनेपछि ज्येष्ठ नागरिकका समस्या समाधान गर्दै मागबमोजिम भवन निर्माण गरिने प्रतिबद्धता पोखरेलले जनाए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर