अहिलेको जनादेशबाट स्थिर सरकार बन्दैन : एमाले उपाध्यक्ष पौडेल

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको जनादेशबाट स्थिर सरकार नबन्ने बताएका छन्।

बिहीबार आर्थिक पत्रकार समाज (सेजन)को २६औं वार्षिकोत्सवमा दिगो आर्थिक विकासका लागि आर्थिक एजेण्डाका बारेमा बोल्दै उनले अहिलेको अभिमतले अस्थिरतालाई नै निरन्तरता दिने बताएका हुन्।

उनले आफूले देशमा स्थिरता दिनका लागि कुनै एक पार्टीले बहुमत ल्याओस् भन्ने चाहेको भए पनि जनादेश त्यस्तो नआउनु मुलुकका लागि दुर्भाग्यपूर्ण रहेको बताए। उनले राजनीतिक स्थिरताका निमित्त धेरै आश गर्ने ठाउँ नरहेको बताए।

उनले भने, ‘स्थिरता र अस्थिरता जनादेशमा भर पर्ने कुरा हो। यस पटकको जनादेशबाट स्थिर सरकार बन्दैन। यसले अस्थिरतालाई नै निरन्तरता दिने देखिन्छ। यो मुलुकका लागि दुर्भाग्यपूर्ण छ। म कुनै एउटा पार्टीले बहुमत ल्याओस् भन्ने चाहन्थेँ। एउटा कार्यकाल उसको पोलिसीको आधारमा देशको नेतृत्व गरोस्, उसका नीतिहरूको व्यावहारिक रूपमा परीक्षण होस् भन्ने म चाहन्थेँ। तर चाहनामाथि जनादेश छ। राजनीतिक स्थिरताका निमित्त त्यति धेरै आशा गर्ने ठाउँ छैन।’

उपाध्यक्ष पौडेलले नयाँ संविधान निर्माणपछि बनेका हरेक सरकारले गरेका कामहरूको मूल्यांकन हुन जरुरी रहेको बताए। उनले संविधान निर्माणपछि बनेका सरकारका कामहरू वस्तुनिष्ठ ढंगले समीक्षा हुनुपर्ने माग गरे। उनले नेकपा एमालेले गरेका उपलब्धि र कमजोरीका लागि आफू पनि जिम्मेवार रहने बताए।

उनले नेकपा एमालेको तत्कालीन सरकारले कोरोना भाइरस र भूकम्पको बेलामा पनि अर्थतन्त्रलाई लयमा राखेको तर अहिलेको सामान्य अवस्थामा पनि किन असामान्य परिस्थिति भएको छ भन्दै प्रश्न गरे। उपाध्यक्ष पौडेलले देशको आर्थिक संकट कल्पनातीत रहेको भन्दै मुलुकले भोगिरहेको अर्थ संकटबारे ‘केसवाइज’ विश्लेषण हुनुपर्ने आवश्यकता रहेको बताए।

उपाध्यक्ष पौडेलले सरकारमा बसेर निजी स्वार्थका लागि नीति निर्माण गर्ने हो भने तत्कालका अर्थतन्त्रका समस्या समाधान गर्न नसकिने बताए। उनले अर्थतन्त्रमा देखिएको अहिलेको समस्या समाधान गर्न सरकार, निजी क्षेत्र, सहकारी क्षेत्रलगायतका आर्थिक क्षेत्रका सबै पक्षहरूको सहभागितामा छलफल हुन जरुरी रहेको बताए। उनले सबै क्षेत्रहरू बसेर निकालिएको निस्कर्षलाई समान ढंगले कार्यान्वयन गर्नुपर्ने बताए।

उपाध्यक्ष पौडेलले हाल आर्थिक क्षेत्रमा असाधारण समस्या रहेको भन्दै साधारण समस्याको समाधान पनि असाधारण हिसाबमै हुनुपर्ने बताए। उनले मुलुक आर्थिक क्षेत्रमा असाधारण संकटको डिलमा पुगेको भन्दै प्रचलित अभ्यासबाट अहिलेका आर्थिक क्षेत्रका समस्या समाधान गर्न नसकिने बताए। उनले सरकारसँग निजी क्षेत्रको विश्वास टुट्दै गइरहेको पनि बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर