स्थानीय तहको कामकारबाही जनमुखी, पारदर्शी र नागरिकप्रति जवाफदेही हुनुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको कामकारबाही जनमुखी, पारदर्शी र नागरिकप्रति जवाफदेही हुनुपर्ने बताएका छन् ।

प्रधानमन्त्री देउवाले नागरिक नजिकको सरकार भएकाले पनि स्थानीय तहको कामकारबाही नागरिकप्रति नै जवाफदेही हुनुपर्ने प्रष्ट्याएका हुन् ।

ललितपुर महानगरपालिकाको १०४औं स्थापना दिवसको अवसर पारेर शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालको संविधानले स्थानीय तहलाई विकास निर्माण र जनसेवाको आधार स्तम्भको रूपमा महत्त्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेकाले सोहीअनुसारको काम हुनुपर्ने उल्ल्ेख गरे ।

प्रधानमन्त्री देउवाले ललितपुर महानगरपालिकाले जनताको अपेक्षाअनुसार विश्वका अन्य मुलुकमा पनि नेपाल र नेपाली जनताको पहिचान हुने गरी आफ्नो कामलाई अघि बढाएको भन्दै प्रशंसा गरे । उनले ललितपुर महानगरपालिकालाई सांस्कृतिक स्मार्ट शहरको रूपमा विकास हुनेगरी काम गर्नुपर्नेमा पनि जोड दिए । प्रधानमन्त्री देउवाले ललितपुर महानगरपालिकाले नमूना महानगरपालिकाको रूपमा आफूलाई अघि बढाएको बताए ।

त्यस अवसरमा प्रधानमन्त्री देउवाले नागरिकलाई खुसी बनाउने गरी ललितपुर महानगरपालिकाको सम्पदाहरूको संरक्षण र संवर्द्धनको काम भइरहेको भन्दै त्यसलाई निरन्तरता दिएर अघि बढ्न थप क्रियाशील हुन आग्रह गरे । भौतिक पूर्वाधारहरूको विकास गर्दा नागरिकको जीवनलाई सहज हुनेगरी अघि बढाउन पनि स्थानीय तहका जनप्रतिनिधिहरूले मिलेर काम गर्नुपर्ने उनको भनाइ थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर