शहरिया मध्यम वर्गका कारण मुलुक अस्थिरतामा धकेलिँदैछ : शंकर पोखरेल

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपाललाई अस्थिरताको भुमरीमा फसाउनका लागि प्रादेशिक संरचनाको विरोध हुने गरेको बताएका छन् ।

सोमवार काठमाडौंमा आयोजित नगरपालिका संघको ८ औँ राष्ट्रिय अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले प्रादेशिक संरचनाको विरोध गर्नु देशलाई अस्थिरताको भुमरीमा फसाउने प्रयोगशाला बनाउने खेती भएको बताएका हुन् ।

उनले कहीँ पनि प्रदेशबिनाको शासन नभएको भन्दै संघीयतामा झनै प्रदेश आवश्यक रहेको बताए । उनले हरेक शासन प्रणालीमा तीन तहको ढाँचा हुने उल्लेख गरे । नेपालको तीन तहको संघीय ढाँचा संघीयताको विशिष्ट मोडेल भएको उनको भनाइ छ ।

उनले संघीयतामा प्रदेश आवश्यक छैन भन्ने बुझाइ गलत भएको बताए । महासचिव पोखरेलले नेपाललाई विश्व राजनीतिको शक्ति संघर्षको थलो बनाउन खोजिएको आरोप लगाए ।

उनले नेपालको प्रशासनिक संयन्त्र संघीयतालाई कार्यान्वयन गर्ने सवालमा मानसिक रुपमा तयार नभएको कारण समस्या पैदा भएको बताए । उनले प्रशासनिक नेतृत्व परम्परावादी भएको बताए । काठमाडौं केन्द्रित प्रशासनिक मानसिकता नै संघीयता कार्यान्वयनको समस्या भएको उनको भनाइ छ ।

महासचिव पोखरेलले शहरिया मध्यम वर्गका कारण मुलुकमा अस्थिरता निम्तिन लागेको बताए । उनले देशमा स्थिरता कायम गर्नका लागि असन्तुष्ट शहरिया मध्यम वर्गलाई सन्तुष्ट पार्नुपर्नेमा जोड दिए । उनले शहरिया मध्यम वर्गमा विचलन देखापरेको बताए । उनले हरेक चुनावमा नयाँनयाँ प्रयोग गरेर राष्ट्र बनाउन नसकिने जिकिर गरे ।

संघ, प्रदेश र स्थानीय तहको संविधानमा उल्लेख भएको अधिकार सूचीहरुलाई इमान्दारपूर्वक कार्यान्वयन गर्ने हो भने संघीयता कार्यान्वयनमा समस्या नआउने उनले बताए ।

संविधानले तीनै तहलाई दिएको साझा अधिकार सूचीलाई संघ सरकारले मात्रै प्रयोग गर्दा समस्या पैदा हुने गरेको उनको भनाइ छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर