खुलामञ्चलाई पार्किङस्थल बनाउन लागिएको भन्दै महानगरपालिका अगाडि विरोध प्रदर्शन

खुलामञ्चलाई पार्किङस्थल बनाउन लागिएको भन्दै टुँडिखेल संरक्षण अभियान ‘अक्युपाई टुँडिखेल’ले विरोध गरेको छ ।

काठमाडौं महानगरपालिकाले खुलामञ्चमा ३ तले भूमिगत पार्किङ बनाउने योजना अगाडि सारेपछि अभियन्ताहरूले सोमबार महानगरको निर्णयको विरुद्धमा विरोध गरेका हुन् । उनीहरूले महानगरपालिकाको कार्यालय, बागबजार अगाडि विरोध प्रदर्शन गरेका छन् । अभियन्ताहरूले टुँडिखेल (खुलामञ्च) को ऐतिहासिक तथा पुरातात्त्विक महत्त्व मासिने गरी पार्किङ बनाउन नहुने बताउँदै विरोध गरेका थिए ।

स्थानीयवासी र संरक्षण अभियान्ताहरूले सोमबार विरोध जनाउँदै महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डंगोललाई ज्ञापनपत्रसमेत बुझाएका छन् । टुँडिखेललाई पुरानै अवस्थामा फर्काउनुपर्ने उनीहरूको माग छ । उनीहरूले खुलामञ्चमा अण्डरग्राउण्ड पार्किङको सोच नै गलत रहेको बताएका छन् ।

विरोध कार्यक्रममा बोल्दै अक्युपाई टुँडिखेल अभियानका प्रवक्ता सञ्जय अधिकारीले सार्वजनिक जग्गालाई हामी सबैले संरक्षण गर्नुपर्ने अहिलेको आवश्यकता भएको बताए । उनले जनतादेखि जनप्रतिनिधिहरू सार्वजिनक जग्गा संरक्षणका लागि गम्भीर हुनुपर्ने आवश्यकता रहेको बताए । उनले महानगरपालिकाको अहिले आएको युवा नेतृत्वले सार्वजनिक जग्गालाई सरकारी जग्गा बुझेर जनभावनाविपरीत काम गरिरहेको आरोप लगाए । उनले महानगरपालिका सार्वजिनक जग्गाको संरक्षक भए पनि मालिक नभएको बताए ।

त्यस्तै अभियानको कार्यक्रममा सहभागी बनेका पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले काठमाडौंजस्तो ऐतिहासिक र सांस्कृतिक ठाउँमा जथाभावी संरचना बनाउन नमिल्ने बताए । उनले टुँडिखेलजस्तो ऐतिहासिक स्थानमा अण्डरग्राउण्ड पार्किङजस्ता कुनै पनि संरचना बनाउन दिन नहुने बताए । उनले पार्किङ चाहिएको भए भृकुटीमण्डपमा अण्डरग्राउण्ड पार्किङ बनाउन सुझाव दिए ।

यता काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले जनचाहनाविपरीत टुँडिखेलमा अण्डरग्राउण्ड पार्किङ नबनाइने बताएकी छन् । सोमबार अक्युपाई टुँडिखेल अभियानले टुँडिखेलमा अण्डरग्राउण्ड पार्किङ बनाउन नहुने भन्दै बुझाएको ज्ञापनपत्र बुझ्दै उनले यस्तो बताएकी हुन् ।

उनले अण्डरग्राउण्ड पार्किङ टुँडिखेलमा आवश्यकता हो वा होइन भन्नेबारेमा स्थानीयवासीको आवश्यक सुझाव लिएर मात्रै काम अघि बढाइने बताइन् । उनले धरहरा, काठमाडौं प्लाजालगायतमा सञ्चालन हुने अण्डरग्राउण्ड पार्किङले सबै समस्या समाधान गरेको खण्डमा नयाँ संरचना बनाउन आवश्यक नै नरहेको बताइन् । उनले टुँडिखेलमा अण्डरग्राउण्ड पार्किङ बनाउने वा नबनाउने भन्नेबारेमा भने सर्वसाधारणको सुझाव लिएर मात्रै महानगर अघि बढ्ने बताइन् ।

गत कात्तिकमा काठमाडौं महानगरपालिकाको १०औं कार्यपालिका बैठकले खुलामञ्चमा ‘ट्रिपल बेसमेण्ट’ पार्किङ र पानी पुनर्भरण पिटको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने निर्णय गरेको थियो । अहिले महानगरपालिकाको उक्त निर्णय विवादित बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर