सबै नेपालीमा स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्नेछौं : स्वास्थ्यमन्त्री गिरी

नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले सबै नेपालीमा स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्नेगरी काम गर्ने बताएका छन्।

मंगलबार स्वास्थ्य तथा जनसंख्यामन्त्रीको शपथग्रहणपछि मन्त्रालयमा पुगेर कार्यभार सम्हाल्दै मन्त्री गिरीले सबै नेपालीहरुमा स्वास्थ्य सेवाको पहुँचलाई सुनिश्चित गर्न सम्पूर्ण ध्यान केन्द्रित गर्ने बताएका हुन्।

उनले सबै पालिकाहरुमा निर्माणाधीन अवस्थामा रहेका अस्पतालहरूमा आवश्यक जनशक्ति र उपकरणहरूको व्यवस्थापनमा पनि ध्यान दिइने बताए। उनले जनताहरूले गुणस्तरीय सेवा लिन सकून् भन्ने आफ्नो चाहना रहेको उल्लेख गर्दै त्यसका लागि रफ्तारमा काम अगाडि बढाउने बताए।

मन्त्री गिरीले स्वास्थ्य बीमाको कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्ने बताए। उनले सबै नागरिकहरूलाई स्वास्थ्य बीमाको दायराभित्र ल्याउने र गुणस्तरीय स्वास्थ्य सेवा दिने बताए।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले मन्त्रालयमा आएपछि स्वास्थ्य सेवाका न्यूनतम मापदण्डसम्बन्धी पहिलो निर्णय गरिएको जानकारी दिइन्। उनले गुणस्तरीय स्वास्थ्य सेवा सबै नेपालीहरुको पहुँचमा पुर्‍याउनका लागि मापदण्ड बनाएको बताइन्। त्यस्तै वडास्तरसम्मका स्वास्थ्य केन्द्रहरूमा आँखासम्बन्धी स्वास्थ्य सेवा विस्तारित गर्नेगरी राष्ट्रिय आँखा स्वास्थ्य रणनीति बनाएको पनि उनले बताइन्।

उनले पनि आम नेपालीको पहुँचमा स्वास्थ्य सेवालाई पुर्‍याउने गरी काम गर्ने बताइन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *