मोडल हौं भन्दै चलचित्रकर्मीलाई ठगी गरेको आरोपमा दुई जना पक्राउ

आफूहरू मोडल भएको भन्दै सामाजिक सञ्जालमा अनधिकृत पहुँच बनाएर चलचित्रकर्मीहरूलाई ठगी गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नुवाकोटको विदूर नगरपालिका–१० घर भई काठमाडौंको तारकेश्वर नगरपालिका–११ नेपालटार बस्ने परिचय गोप्य राखिएका १७ वर्षका किशोर र रसुवाको उत्तरगया गाउँपालिका–५ बोगटीटार घर भई नेपालटार नै बस्ने १९ वर्षका विवेक आचार्य रहेका छन्।

उनीहरूले सामाजिक सञ्जालमार्फत कुराकानी गरी विशेषतः चलचित्र क्षेत्रमा पेशारतलाई आफू मोडल भएको झुट्टा पोष्ट बनाई सो पोष्टमा क्लिक गर्न लगाउने, प्रचलित नेपाली गीतहरूको लिंकमा क्लिक गरी शेयर गर्न लगाउने, भिडियो कलमा आफैं नांगो आई सोको अभिलेखीकरण गर्ने, प्राप्त अभिलेखहरू सम्पूर्ण परिवार तथा साथीहरूलाई पठाइदिने भनी विभिन्न बहानामा पीडितहरूको गोप्य सूचना (प्रयोगकर्ताको नाम, पासवर्ड, ओटीपी) लिई डरत्रासमा पारी अनधिकृत पहुँच बनाउने र ब्ल्याकमेल गरी ठगी गर्ने गरेको पाइएको ब्यूरोले जनाएको छ।

उनीहरूलाई सामाजिक सञ्जालको दुरुपयोग गरी भएको ठगीअन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई पक्राउ गरेर ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोका एसपी पशुपतिकुमार रायले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *