इन्टरपोलको २४औं एशियाली क्षेत्रीय सम्मेलनमा भाग लिएर आईजीपी सिंह स्वदेश फिर्ता

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह संयुक्त अरब इमिरेट्सको आबुधाबीमा माघ २४ देखि २६ गतेसम्म सञ्चालन भएको इन्टरपोलको २४औं एशियाली क्षेत्रीय सम्मेलनमा नेपालको तर्फबाट सहभागी भई आइतबार स्वदेश फकिएका छन्।

प्रहरी महानिरीक्षक सिंहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरूलगायत वरिष्ठ प्रहरी अधिकृतहरूले स्वागत गरेका थिए।

विमानस्थलमा कुराकानी गर्दै प्रहरी महानिरीक्षक सिंहले उक्त सम्मेलनमा एशियाली राष्ट्रका प्रहरी संगठन मजबुत बनाउने र इन्टरपोललाई थप सक्रिय बनाउने विषयमा छलफल भएको बताए।

एशियाली देशहरूबाट आतंकवाद निर्मूल पार्ने, मानव बेचबिखन नियन्त्रण तथा पछिल्लो समयमा विश्वव्यापी समस्याको रूपमा देखापरेको साइबर अपराध र साइबर सुरक्षामा एकताबद्ध भएर प्रभावकारी तरिकाले कसरी काम गर्न सकिन्छ भन्ने विषयमा समेत छलफल भएको उनले बताए। कुनै पनि अपराधी अर्को देशमा गएर लुक्न नपाओस् भन्ने विषयमा समेत सम्मेलनमा सदस्य राष्ट्रहरूले जोड दिएको उनले जानकारी दिए।

इन्टरपोल स्थापना भएको सय वर्ष पूरा भएको अवसरमा सदस्य राष्ट्रले यसलाई विशेष रूपमा मनाउने निर्णय गरेको र नेपाल सयौं सदस्य राष्ट्रसमेत भएकाले सोही अवसरमा नेपाल प्रहरीले आईजीपी रनिङ शील्ड फुटबल प्रतियोगिता आयोजना गरिसकेको बताउँदै प्रहरी महानिरीक्षक सिंहले आगामी दिनमा अन्य विविध कार्यक्रम आयोजना गरिने बताए।

हाल इन्टरपोलको प्रतिनिधित्व गर्दै नेपाल प्रहरीका दुई जना अधिकृतहरू सिंगापुर र लियोनमा कार्यरत रहेकाले यो नेपाल प्रहरीकै लागि गौरबको विषय भएको बताउँदै महानिरीक्षक सिंहले नेपाल प्रहरी इन्टरपोलको सदस्य भएकै कारण गल्फलगायत विभिन्न देशमा लुकेर रहेका अभियुक्तहरूलाई इन्टरपोलको सहायताबाट पक्राउ गरेर ल्याउन सफल भएको बताए।

सम्मेलनको दौरानमा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले इन्टरपोलका अध्यक्ष मेजर जनरल अहमद नासिर अल-रइसी र महासचिव जर्गन स्कटलगायत इन्टरपोलका पदाधिकारीहरूसँग भेटघाट गरेका थिए।

भेटघाटको क्रममा नेपालले इन्टरपोलको सदस्य राष्ट्रको रूपमा देखाएको सक्रियताको प्रशंसा भएको र नेपाल प्रहरीका अधिकृतहरूको क्षमता अभिवृद्धिको लागि विभिन्न तालिममा सहभागी गराउने विषयमा छलफल भएको बताए। साथै सम्मेलनको क्रममा अपराध नियन्त्रणलाई प्रभावकारी बनाउन भारत, चीन र दक्षिण कोरियालगायतका मुलुकका प्रहरी प्रमुखसँग छुट्टाछुट्टै भेटवार्ता एवं औपचारिक र अनौपचारिक छलफलसमेत निकै फलदायी भएको उनले उल्लेख गरे।

नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौं नेपालका प्रमुखसमेत रहेका प्रहरी महानिरीक्षक सिंहको नेतृत्वमा नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका प्रहरी उपरीक्षक अनुपमशमशेर जबरासमेत उक्त सम्मेलनमा सहभागी भएका थिए।

त्रिदिवसीय उक्त सम्मेलनमा एशियाली मुलुकका प्रहरी प्रमुखहरू, इन्टरपोलका प्रतिनिधिमण्डल तथा विभिन्न सरोकारवाला निकायहरूबीच आर्थिक अपराध, मानव बेचबिखन, साइबर अपराध र आतंकवादजस्ता अन्तरदेशीय अपराधहरूको नियन्त्रणका लागि आवश्यक प्रहरी समन्वयलगायतका विषयहरूमा बृहत् छलफल भएको थियो। यसअघि इन्टरपोलको २३औं एशियाली सम्मेलन सन् २०१७ मा काठमाडौंमा सम्पन्न भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर