नेपाल-पाकिस्तान मैत्रीपूर्ण टी-२० क्रिकेट सुरु

काठमाडौंस्थित पाकिस्तानी राजदूतावासको आयोजनामा नेपाल-पाकिस्तान मैत्रीपूर्ण टी-२० क्रिकेट प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको यो आठौं संस्करण हो।

प्रतियोगिताको शुक्रबार उद्घाटन गरिएको हो। उद्घाटन समारोहमा पूर्वउपप्रधानमन्त्री सीपी मैनाली प्रमुख र क्रिकेट संघ नेपाल (क्यान) का पूर्वअध्यक्ष बिनाराज पाण्डे विशिष्ट अतिथि थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै मैनालीले हरेक वर्ष कार्यक्रम सफलतापूर्वक आयोजना गरेकोमा दूतावासको पहलको प्रशंसा गरे। उनले दुई देशका युवालाई एकजुट बनाउन क्रिकेट र खेलकुदको सम्भावना रहेको बताए।

यस्तै पाण्डेले दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउने मात्रै नभई युवाहरूका बीचमा खेलकुद गतिविधिलाई अभिवृद्धि गर्ने अवसरका रूपमा पनि यस्ता कार्यक्रम आयोजना गरेको भन्दै पाकिस्तानी दूतावासको प्रयासको प्रशंसा गरे।

त्यसैगरी चार्ज डी अफेयर्स उमैर अलीले खेलकुद र बाहिरी गतिविधिहरूको महत्त्वलाई प्रकाश पारे। उनले क्रिकेट खेल मात्र नभई यसले मानिसहरूलाई एकताबद्ध गर्ने र आपसी सद्भाव तथा सामूहिक कार्यको भावना जगाउने मञ्चको रूपमा काम गर्ने बताए।

उनले यस कार्यक्रमले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्ने बताए। अलीले कार्यक्रम आयोजना गर्न सहयोग गर्ने विशिष्ट अतिथिहरू र नेपाल सरकारलाई धन्यवाद दिए।

नौ दिनसम्म चल्ने प्रतियोगितामा यस वर्ष १२ वटा क्रिकेट टोलीको सहभागिता रहेको छ। प्रतियोगिता चैत ४ मा समापन हुने तालिका छ। खेल नेपाली च्यानल ‘एक्शन स्पोर्ट्स’ मा प्रत्यक्ष प्रसारण हुनेछ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर