कतार पुलिसको जागिरमा लगाइदिने भन्दै ६३ लाख ठगेको आरोपमा एक जना पक्राउ

कतार पुलिसको जागिरमा लगाइदिने प्रलोभनमा पारी ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

सप्तरीको कञ्चनरूप नगरपालिका घर भई काठमाडौंको टोखा बस्ने ४१ वर्षीय पूर्णकुमार दाहाल पक्राउ परेका हुन्।

उनले चन्द्रबहादुर खत्रीसहित १८ जनाबाट ६३ लाख रुपैयाँ ठगी गरेको आरोप रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौरले जानकारी दिए।

एसपी राठौरका अनुसार उनले वैदेशिक रोजगारीका लागि कतारमा पठाइदिन्छु, त्यसका लागि प्रतिव्यक्ति ७ लाख रुपैयाँ लाग्छ, कतारमा पुगेपछि कतार पुलिसमा भर्ना गराइदिन्छु, मासिक १ रुपैयाँ लाखभन्दा बढी तलब हुन्छ भनी पीडितहरूलाई प्रलोभनमा पारेका थिए।

रकम लिएपछि सम्पर्कविहीन भएका उनलाई पक्राउ गरिदिन भन्दै वैदेशिक रोजगार विभागले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पत्राचार गरेको थियो।

कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले बिहीबार अपराह्न ५ बजे झापाको भद्रपुर नगरपालिका-५ बाट उनलाई पक्राउ गरेको हो।

उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको एसपी राठौरले बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर