सगरमाथा खुट्टाले होइन आत्मबलले चढेँ : हरि बुढामगर

सगरमाथा आरोहणसँगै मैले नयाँ कीर्तिमान कायम गरेको छु। झट्ट हेर्दा म एक्लैले सगरमाथा चढेकोजस्तो देखिन्छ। तर यथार्थमा मलाई सगरमाथा चढ्न धेरै मनकारीहरुको साथ र सहयोग छ। विशेष गरी शेर्पा पथप्रदर्शक र सहयोगी बिना यो सम्भव हुने थिएन।

मेरो परिवार यतिबेला बेलायतमा छ। मेरो यो सफलतामा बेलायतमा रहेको परिवारले ठूलो साथ दिएको छ। त्यति मात्रै होइन, नेपाल र विश्वका कुना–कुनाबाट मलाई फोन कल र सन्देशमार्फत हौसला प्रदान गर्ने धेरै हुनुहुन्छ।

म कुनै समय विक्षिप्त भइ आत्महत्या गर्ने सोचमा समेत पुगिसकेको थिए। रक्सीको लतमा फसेर जीवन बर्बाद गर्ने अवस्थासम्म आएको थियो तर त्यसबाट बाहिर निस्किर आज यो अवस्थामा आइपुग्न साथ दिने सबै मेरो यो सफलतामा म जत्तिकै हकदार हुनुहुन्छ।

हामी नेपालीहरु सगरमाथा, बुद्ध र गोरखालीको देशका रुपमा विश्वभर परिचित छौं। यी तीन वटै कुरामा म व्यक्तिगत रुपमा जोडिएको छु। स्कुल पढ्दा हामीले सगरमाथाबारे पढेका थियौं।

तेञ्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सगरमाथा चढेका कथा सुन्दा म पनि चढ्न पाए हुन्थ्यो भन्ने हुन्थ्यो। तर करिअर बनाउने सिलसिलामा ब्रिटिस आर्मीमा भर्ना हुन पुगे।

त्यहाँ केही समय सेवारत भए। सेवाकै क्रममा अफगानिस्तान तैनाथ हुँदा युद्धमा परी म घाइते हुन पुगे । फलस्वरुप मेरा घुँडासम्मका दुवै खुट्टा गुमे। घाइते भएपछि मेरा पीडाका दिन सुरु भए।

शारीरिक र मानसिक पीडाले लामो समयसम्म दुःख दियो। मेरो भाग्य र कर्ममै खोट रहेछ, पुरानो जन्मको फल होला भन्दै आफैलाई कैयन पटक धिक्कारेको छु। अब मेरो जिन्दगी नै सकियो भन्ने निचोडमा पुगिसकेको थिए।

त्यही बेला पीडा भुलाउन रक्सी बाहना बन्यो। करिब डेढ वर्षसम्म रक्सीको लतमा जीवन डुब्यो। यतिसम्म कि रक्सी नपिउँदा शरीर काम्न थाल्यो। हरेक दिन रक्सी अनिवार्य जस्तै बन्यो।

कतिपटक आत्महत्या गर्ने सोच पलायो अहिले भन्न सक्दिन। तर आफू मरेर परिवार र सन्तानलाई किन पीडा दिनु? भन्ने सोचले आत्महत्या पनि गर्न सकिन।

लामो समयसम्म रक्सीको लतमा फसेपनि केही समयपछि भने मनमा बाँच्ने रहर पलाएर आयो। घर परिवार र सन्तानको मायाले मलाई आफू बाँच्नुपर्छ भन्ने लाग्यो।

म आफूलाई खेल तथा साहसिक गतिविधिमा केन्द्रित गराए। यो मेरो जीवन परिवर्तन गर्न सहयोगी बन्यो। यसैक्रममा स्की खेल्न युरोप र अमेरिकामा पनि पुगे।

एड्भेञ्चर खेल खेल्दा विद्यालयमा छँदा पढेको आफ्नै सगरमाथाको तस्बिरले पछ्याउन थाल्यो। विश्वका अन्यत्र स्थानका हिमाल देख्दा सगरमाथाको झल्को अझ बढ्न थाल्यो। यसबीच मैले माउन्टेनरिङसम्बन्धी तालिम लिएँ। माउन्टेन प्रशिक्षक भएर काम पनि गरें।

अपाङ्गता भएर पनि स्की खेल खेल्ने नेपालमा पहिलो खेलाडी पनि बने। तालिमका क्रममा गोसाइँकुण्डसम्म पुगे। हाइ अल्टिच्युडमा कस्तो हुन्छ? शारीरिक रुपमा सम्भव छ वा छैन भन्ने अनुभव भयो।

स्की खेल्दा सुरुमा दुवै खुट्टाले खेले पनि पछि बसेर खेल्न थाले। जर्मनी र अष्ट्रियामा रहँदा भेटिएका म जस्तै १२/१५ जना साथीहरूका बीचमा आफूलाई अब्बल सावित गर्न सफल भएँ। यी सबै अनुभवले मलाई इच्छाशक्ति भयो भने असम्भव केही छैन भन्ने पाठ सिकायो।

मलाई सगरमाथा चढ्नका लागि भने लामो समय लाग्यो। मैले सन् २०१८ मै सगरमाथा आरोहणको योजना बनाएको थिएँ। तर सरकारले दुई आँखा र दुई खुट्टा नहुनेलाई आरोहणमा प्रतिबन्ध लगायो।

यसका विरुद्ध हामी अदालत गयौँ र त्यहाँबाट बाटो खुल्यो। सन् २०१९ मा आरोहणका लागि आवश्यक रकम जुटाउन सकिन। त्यसपछि कोरोना महामारीका कारण योजना पाँच वर्ष पछाडि धकलियो।

तर यसपटक भने सफल भएँ। मलाई धेरैले प्रश्न गर्छन्, दुवै खुट्टा नभएकाले कसरी सगरमाथा चढिस? म भन्छु, मैले खुट्टाले होइन, आत्मबलले सगरमाथा चढेको हुँ।

यसअघि मैले मोन्ट ब्लाङ्क (चार हजार आठ सय १० मिटर), चुलु सुदूरपूर्व (छ हजार ५९ मिटर), किलिमन्जारो (पाँच हजार आठ ९५ मिटर) र मेरापिक (छ हजार चार सय ७६ मिटर)लगायतका हिमाल आरोहण गरिसकेको छु। साथै सगरमाथा आधार शिविर पुग्ने र सगरमाथामाथि स्काई ड्राइभ गर्ने ‘डबल एम्प्युटी एभोब एभोब नी’ को रेकर्ड पनि मेरो नाममा छ।

आधार शिविरमा १८ दिन
सगरमाथा आरोहणका क्रममा हामी अप्रिल ५ मा मेरापिक बस्यौं। दुई पटक मेरापिक चढेपछि हामी सगरमाथाको आधार शिविर पुग्यो। मौसम बिग्रिएकाले आधार शिविरमा १८ दिन बस्यौं।

मौसम सफा हुँदै गएपछि दोस्रो आधार शिविरतर्फ लाग्यौं। त्यहाँ मौसमले साथ नदिएपछि म पहिलो आधार शिविर फर्किए।

साथीहरुले त्यहीँ बसेर अन्य व्यवस्थापकीय काममा जुटे। जब मौसम अनुकुल भयो हामी सगरमाथा चढ्न सक्यौं। सगरमाथा आरोहणमा निकै ठूलो पीडा भोग्यौं। समूहका सबै साथीहरु चुचुरोसम्म पुग्न सक्नुभएन।

सगरमाथा चुचुरोबाट धेरै फोटो खिच्ने र त्यहाँबाट हिमालहरु हेर्ने सपना भने मौसम बिग्रिएकाले पूरा हुन सकेन। अब मैले बाँकी जीवन सामाजिक काममा सक्रियताक साथ बिताउने योजना बनाएको छु।

पुरानो उपलब्धिका आधारमा सामाजिक कार्यमा सक्रिय हुनेछु। मलाई जस्तै अवस्था अरूलाई नआओस् भन्ने चाहना छ। अब फाउन्डेसनमार्फत सशक्तिकरणमा लाग्ने योजना बनाएको छु।

यसमार्फत एकजनाको मात्रै जीवनमा सुधार ल्याउन सकियो भने त्यसले सकारात्मक ऊर्जा दिन्छ। अवसरबाट वञ्चित र साहसिक कार्यप्रति रुचि भएकालाई हौसला दिने योजना बनाएको छु।

ममा अझै पनि खुट्टा गुमाउँदाको पीडा ठूलो छ। युद्धका कारण मैले दुवै खुट्टा गुमाएको छु। युद्धका कारण मेरो जीवनमा परेको असर म भुल्न सक्दिन। त्यसैले विश्वमा अशान्ति मच्चाउनेहरुलाई सगरमाथाको शीरबाट शान्तिको कामना गर्न चाहन्छु।

(सगरमाथा आरोहण गरी मंगलबार काठमाडौं फर्केपछिको कुराकानीमा आधारित उनको अनुभव राष्ट्रिय समाचार समिति (रासस) का समाचारदाता सीबी अधिकारीले प्रस्तुत गरेका हुन्।)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *