प्रधानमन्त्री दाहालसँग राष्ट्रसंघका उपमहासचिवकाे भेटवार्ता

संयुक्त राष्ट्रसंघको शान्ति कार्य विभाग हेर्ने उपमहासचिव जिन-पियरे ल्याक्रोइक्सले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेटवार्ता गरेका छन्।

आफ्नाे चारदिने नेपाल भ्रमणकाे दाेस्राे दिन बुधबार बिहान उनले प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका हुन्।

भेटमा संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनामा नेपालको योगदान तथा नेपाल-संयुक्त राष्ट्र साझेदारीबारे छलफल भएकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ।

मंगलबार काठमाडौं आएका उनले साे दिन उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गरेका थिए। उनले परराष्ट्रमन्त्रीसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ।

उपमहासचिव ल्याक्रोइक्सले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए।

यहाँ बसाइँका क्रममा उनी संयुक्त राष्ट्रसंघ र नेपाली शान्ति सेनासम्बन्धी विविध कार्यक्रममा सहभागी हुनेछन्। साथै उनले पर्यटकीय महत्त्वका स्थानको अवलोकन भ्रमण गर्ने कार्यक्रम पनि रहेको छ।

संयुक्त राष्ट्रसंघको विश्वशान्ति कार्यमा धेरै सेना पठाएर योगदान गर्ने मुलुकको सूचीमा हाल नेपाल दोस्रो स्थानमा छ। शान्ति सेनामा महिला सैनिक धेरै पठाउने देशमा नेपाल पहिलो नम्बरमा रहिआएको छ।

संयुक्त राष्ट्रसंघबाट माग भइआएको खण्डमा नेपालले १० हजार संख्यामा शान्ति सैनिक पठाउन सक्ने यसअघि नै प्रतिबद्धता जनाइसकेको छ।

संयुक्त राष्ट्रसंघले गत जेठ ३० देखि असार १ गतेसम्म सातौं संस्करणको शान्ति स्थापना कार्यमा प्रविधिका लागि सहकार्यसम्बन्धी अन्तर्राष्ट्रिय संगोष्ठी गरेको थियो। उक्त संगोष्ठीमा राष्ट्रसंघका सहयोग कार्यसम्बन्धी विभाग हेर्ने उपमहासचिव अतुल खेरसहितका उच्च पदाधिकारीले भाग लिएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर