भेपमा सुन तस्करी प्रकरण

महरा र उनका छोरा पनि तानिने छन् जाँचबुझ आयोगकाे छानबिनमा

राष्ट्रिय मान्यता प्राप्त दलहहरूले नेकपा (माओवादी केन्द्र) का नेता कृष्णबहादुर महरा जोडिएको सुन तस्करीका विषयमा छानबिन गर्ने सहमति जुटाएका छन्।

बुधबार प्रधानमन्त्री कार्यालय सिहंदरबारमा बसेको बैठकमा माओवादी नेता महरा र उनका छोरा राहुलको नाम जोडिएको इलेक्ट्रिक सिगरेट (भेप) मा सुन राखी अवैध पैठारी गरिएको घटनामा पनि छानबिन गर्ने सहमति जुटेको हो।

दलहरूबीच सुन तस्करी प्रकरणमा आगामी असाेज ५ गते जाँचबुझ आयोग गठन गर्ने सहमति भएकाे छ। आयोगले साेही दिनदेखि काम थाल्ने गरीकाे सहमति भएकाे हाे।

इलेक्ट्रिक सिगरेट (भेप) मा ९ किलो सुन तस्करी गरिएको प्रकरणमा महरा परिवारको नाम मुछिँदै आएको छ।

चिनियाँ नागरिक ली हानसोङ २०७९ पुष १० गते फ्लाई दुबईको उडानबाट नेपाल आउँदा भेपको ७३ बट्टामा ७ सय ३० थानमा करिब ९ केजी सुन लुकाएर ल्याएको छानबिनबाट पुष्टि भएको थियो।

भेप शंकास्पद देखिएपछि त्रिभुवन विमानस्थल भन्सार गोदाममा नै राखेर थप अनुसन्धान अघि बढाइएको थियो।

भेप भन्सार गोदाममा रहेको बेला केही कर्मचारीलाई प्रयोग गरी भेप उम्काउन हानसोङलगायतको सुन तस्कर गिरोहको टोली सफल भएको थियो।

स्थानीय बजारको भेप लगेर फेर्नुअघि अर्थात् सुन भएको भेप छुटाउन महरा बाबु-छोराले भन्सारका कर्मचारी, सुन ल्याउने चिनियाँ नागरिक हानसोङलगायतका गिरोहका सदस्यसँग बारम्बार टेलिफोन गरेको प्रहरी स्रोतको दाबी छ।

यस प्रकरणमा महराको नाम बारम्बार जोडिँदा पनि सरकारले केही नगरेको भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको चर्को आलोचना गर्दै आएका छन्।

देउवाले गृहमन्त्री श्रेष्ठलाई सरकारबाट हटाउनुपर्ने मागसमेत प्रधानमन्त्री दाहालसमक्ष राखेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर