भेपमा सुन तस्करी प्रकरण

राहुल महरालाई ५ दिन थुनामा राख्न अनुमति

सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरालाई ५ दिन हिरासतमा राख्न अदालतले प्रहरीलाई अनुमति दिएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बुधवार पक्राउ गरेका उनलाई म्याद थपका लागि बुधवार नै काठमाडौं जिल्ला अदालतमा पेस गरेको थियो।

सीआईबीले १० दिनको समय मागेकोमा अदालतले ५ दिन दिएको हो।

विद्युतीय चुरोट (भेप) मार्फत भएको करिब ९ किलो सुन तस्करीमा उनी महरा बाबुछोरा नै संलग्न रहेको आरोप छ। यद्यपि नेता महरा भने पक्राउ परेका छैनन्।

बुधवार पक्राउ परेका राहुलले अनुसन्धानमा सहजीकरणका लागि आफैं सीआईबीमा जान लागेको सामाजिक सञ्जालमार्फत बताएका थिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन भित्र्याउने चिनियाँ तस्करसँग पटक-पटक कुराकानी गरेको देखिएपछि महरा बाबु-छोरा पनि सुन तस्करीमा संलग्न रहेको आरोप लागेको हाे।

०७९ पुस १० मा दुबईबाट भेपमा लुकाएर सुन ल्याउने समूहका चिनियाँ नागरिक दाओजिन वाङसँग महरा र उनका छोराले टेलिफोन सम्पर्क गरेको देखिएको थियो।

तर, नेता महराले भने ती व्यक्तिलाई आफूले फलफूल व्यापारीको रूपमा चिनेको बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *