इन्डो-प्यासिफिक क्षेत्रका सेना प्रमुखको सम्मेलनमा भाग लिन प्रधानसेनापति शर्मा भारत जाँदै

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा आउँदो आइतबार भारत जाने भएका छन्। इन्डो-प्यासिफिक क्षेत्रका ३० वटा देशका सेना प्रमुखहरूको नयाँ दिल्लीमा हुने सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ जाने भएका हुन्।

नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीका अनुसार प्रधानसेनापति शर्मा असोज ७ गते भारत प्रस्थान गर्नेछन् र सम्भवतः ११ गते स्वदेश फर्कनेछन्।

यस प्रकारको सम्मेलनमा नेपाली सेनाका प्रधानसेनापति पहिलेदेखि नै सहभागी हुँदै आएको भण्डारीले बताए।

नयाँ दिल्लीमा यही असोज ९ र १० गते १३ औं ‘इन्डो-प्यासिफिक आर्मिज चिफ्स कन्फरेन्स (आईपीएसीसी)’ हुँदैछ। सम्मेलनको आयोजना भारतीय र अमेरिकी सेनाले संयुक्त रूपमा गर्दैछन्।

अमेरिकी सेनाका चिफ अफ स्टाफ जनरल जेम्स सी मिक्खानोभिल र भारतीय सेनाका प्रमुख जनरल मनोज पाण्डेले सम्मेलनको अध्यक्षता गर्ने भारतीय सञ्चार माध्यमले जनाएका छन्।

आईपीएसीसीसँगै ‘इन्डो-प्यासिफिक आर्मिज म्यानेजमेन्ट सेमिनार र सिनियर इनलिस्टेड लिडरसिप फोरम’ पनि हुँदैछ। यी कार्यक्रममा पनि प्रधानसेनापति शर्मा सहभागी हुनेछन्।

सम्मेलनमा ‘इन्डो-प्यासिफिक’ क्षेत्रमा शान्ति, सुरक्षा र समृद्धि प्रवर्द्धन सुरक्षा सहयोग र सामूहिक रणनीति, परस्पर क्षेत्रीय हित र संकट न्यूनीकरणमा सैन्य कूटनीतिको भूमिकालगायत विषयमा छलफल हुनेछ।

सन् १९९९ देखि हरेक दुई वर्षमा आइपीसीसी हुँदै आएको छ। यसको १२औं सम्मेलन सन् २०२१ मा हवाईको फोर्ट साप्टरमा भएको थियो।

सम्मेलन तयारीका क्रममा बुधबार भारतीय सेनाले नयाँ दिल्लीमा पत्रकार सम्मेलन गरेको छ। पत्रकार सम्मेलनमा भारतीय सेनाका उपप्रमुख एमभी सुचन्द्र कुमारले सम्मेलनमा इन्डो-प्यासिफिक मुलुकका सेनाका प्रमुखहरूले यस क्षेत्रमा देखिएको संकट न्यूनीकरणमा सैन्य कूटनीतिको भूमिका, परस्पर सहयोग तथा अन्तर क्षमता अभिवृद्धि र आधुनिक सेनामा आत्मनिर्भरताको आवश्यकता विषयमा छलफल गर्ने बताए।

सम्मेलनमा नेपाल, भारत, अमेरिका, अस्ट्रेलिया, इन्डोनेसिया, जापान, बंगलादेश, मलेसिया, भुटान, ब्रुनाई, कम्बोडिया, दक्षिण कोरिया, माल्दिभ्स, मंगोलिया, म्यानमार, न्युजिल्यान्डलगायत देशका सेना प्रमुख सहभागी हुने जनाइएको छ।

शिख नेता हरदीपसिंह निज्जारको हत्याका विषयमा भारत र क्यानडाबीच कूटनीतिक तनाव चलिरहँदा भारतमा हुने आईपीएसीसीमा क्यानडाली सेनाको सहभागिताका विषयमा भने संशय उत्पन्न भएको छ। क्यानडाका सेना प्रमुख यसअघिका आईपीएसिसीमा सहभागी हुँदै आएका छन्। अहिले भारतमा सम्मेलन हुन लागेकाले क्यानडाली सेना प्रमुखको सहभागिताका विषयमा आशंका जन्मिएको हो।

गत जुन १८ मा क्यानडामा शिख नेता निज्जारको अज्ञात समूहले गोली हानी हत्या गरेको थियो। निज्जारलाई भारतले आफ्नो भूमिलाई खण्डित गरेर ‘खालिस्तान’ बनाउने अभियन्ताका रूपमा लिएको थियो। उनले क्यानडामा बसेर भारतमा आतंकवादी गतिविधि सञ्चालन गरेको भारत सरकारको दाबी छ।

निज्जारको हत्यामा भारत सरकारको संलग्नता रहेको वक्तव्य क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले संसदमा दिएका थिए, जसलाई भारतले इन्कार गरेको छ। निज्जारको हत्यापछि क्यानडाले त्यहाँ रहेका भारतका एक कूटनीतिक अधिकारीलाई देश निकाला गरेको थियो। जसको बदलामा भारतले पनि क्यानडाली कूटनीतिज्ञलाई पाँच दिनभित्र भारत छाड्न उर्दी जारी गरेको थियो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *