रिगललाई आममाफी दिने सरकारको निर्णय बदर

तत्काल पक्राउ गर्न आदेश

सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका योगराज ढकाल ‘रिगल’ लाई आममाफी दिने निर्णय बदर गरेको छ ।

बिहीबार कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्‍ल र कुमार चुडालको इजलासले रिगलको कैद मिनाहा गर्ने निर्णयलाई बदर गर्ने परमादेश दिएको हो।

न्यायाधीश खतिवडाले इजलासमा आदेश सुनाउँदै ‘रिगल’ को बाँकी कैद मिनाहा संविधान र कानुनविपरीत देखिएकोले बदर हुने बताए ।

चेतन मानन्धरको हत्या अभियोगमा जेल सजाय काटिरहेका रिगलले सरकारबाट बाँकी कैद माफी पाएका थिए। बाँकी कैद माफी पाएर रिगल संविधान दिवसको दिन छुटेका थिए।

त्‍यस निर्णयविरूद्ध चेतन मानन्धरकी श्रीमती भारती मानन्धर शेर्पाले गत असोज २२ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन्।

रिगलले ४० प्रतिशत कैद भुक्तान गरेको र चालचलन असल रहेको भन्दै कैद मिनाहका लागि सरकारले सिफारिस गरेको थियो। उनले अब कैद भुक्तान गर्न ११ वर्ष ११ महिना ५ दिन बाँकी रहेको छ। उनलाई तत्काल पक्राउ गरी बाँकी कैद असुल गर्न परमादेश पनि जारी भएकाे छ।

२०७२ असार २८ गते बाँकेको नेपालगन्ज-१६ स्थित मुख्य सडकमै रहेको ज्योति सिम्ताली होटेलअगाडि रिगलसहित करिब १५ जनाको समूहले स्थानीय चेतन मानन्धरको हत्या गरेको पुष्टि भएको थियो।

सोही प्रकरणमा बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७५ वैशाख ११ गते  रिगललाई जन्मकैदको सजाय हुने फैसला सुनाएको थियो।

२०७२ भदौ ७ गते पक्राउ परेका उनलाई २०९२ भदौ ६ गतेसम्म कैद गर्नुपर्ने फैसला भए पनि गत असोज ३ गते संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले रिगलको बाँकी कैद मिनाहा गरिदिएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *