उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ कम्युनिष्ट पार्टीका तिब्बत सेक्रेटरीबीच भेटवार्ता

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी), तिब्बत स्वायत्त क्षेत्रका सेक्रेटरी वाङ छुङछेङ नेतृत्वको प्रतिनिधिमण्डलबीच आज गृह मन्त्रालयमा भेटवार्ता भएको छ ।

भेटमा सेक्रेटरी छुङछेङले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणका क्रममा उनी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भएको सहमति-सम्झौताको कार्यान्वयन पक्ष् ानै आफ्नो भ्रमणको उद्देश्य भएको बताए ।

प्रधानमन्त्री प्रचण्ड, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे र राजनीतिक दलका नेता र पदाधिकारीसँगको आफ्नो भेट उपलब्धिमुलक रहेको उनले बताए । नेपालको सार्वभौम स्वतन्त्र नीतिको चीनले सधैं प्रशंसा गरेको तथा नेपालले एक चीन नीति र तिब्बत पक्षमा देखाएको दृढता अविचलित रहेकोमा उनले खुसी व्यक्त गरे ।

चीनले नेपालको हरेक समस्यामा साथ दिने, अहिलेको भूकम्पमा पनि पहिलो चरणको सहयोग गरिएको र थप सहयोग गरिने छुङछेङले बताए । कोभिडको कारणले केही समय सीमामा समस्या भए पनि हाल पुराना सबै नाका खुलिसकेको, नेपाल र चीनबीचको व्यापार तथा पारवहन सुचारू भइसकेको तथा केही नयाँ नाकाहरू पनि खुलिसकेकोमा उनले खुसी व्यक्त गरे । प्रशासन सुधारका लागि नेपालको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई २० मिलियन चिनियाँ रकम(आरएमबी) सहयोग गर्ने तयारी अन्तिम चरणमा पुगिसकेको जानकारीसमेत उनले दिए ।

उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र चीनबीच सरकार, पार्टी र जनस्तर, तीनै तहमा उत्तिकै ऐतिहासिक एवम् हार्दिक सम्बन्ध रहेको बताए । नेपालको विपद् तथा विकासमा चीनको सहयोग अमूल्य रहेको समेत उनले बताए ।

भूकम्पमा, कोभिडमा र हाल पनि चीनले गरेको सहयोग अविस्मरणीय रहेको भन्दै त्यसका लागि धन्यवाद व्यक्त गरे । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेतृत्वमा अगाडि बढेको बीआरआई परियोजनालाई नेपालले आत्मसात गरिसकेको र यसमार्फत कमजोर अर्थतन्त्र भएका मुलुकको आर्थिक विकासमा टेवा पुर्‍याउने चीनको नीतिको उनले सराहना गरे । यसका लागि पूर्वाधारको कामलाई प्रभावकारी र व्यापक रूपमा अगाडि बढाउने गृहकार्य पनि सफल भइछाड्ने विश्वास उपप्रधानमन्त्री श्रेष्ठले व्यक्त गरे ।

नेपालको सीमा मामिला संघीय सरकारले हेर्ने र चीनको सीमा मामिला त्यहाँको केन्द्रीय, प्रान्तीय र इकाइ तीनै सरकारले हेर्ने कारणले कहिलेकाहीँ द्विपक्षीय सरोकारका समस्या आउँदा गरिनुपर्ने समन्वयलाई व्याहारिक बनाइनुपर्ने छलफलसमेत भेटवार्तामा भएको थियो । उपप्रधानमन्त्री श्रेष्ठले विश्वको दोस्रो ठूलो अर्थतन्त्र बनिसकेको चीनले गरिबी निवारण र भौतिक विकासमा गरेको असाधारण प्रगतिबाट नेपालले पनि सिक्न चाहेको बताए । नेपाल र चीनबीच थप हवाई उडानहरू विस्तार गर्नुपर्नेमा समेत उनले जोड दिए ।

बीआरआई सम्मेलनका क्रममा चीनमा आकस्मिक बिरामी पर्दा चिनियाँ सरकार र चिकित्सक एवम् स्वास्थ्यकर्मीले उपचारमा देखाएको तदारूकताबाट आफू धेरै नै प्रभावित भएको उपप्रधानमन्त्री श्रेष्ठले बताए ।सेक्रेटरी छुङछेङले त्यो आफुहरूको दायित्व तथा कर्तव्य भएको र गम्भीर रोगलाई सामना गर्न सकेको एक ‘लक्की’ नेतासँग यसरी भेट हुँदा आफुहरूमा खुसीको सीमा नरहेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर