राष्ट्रिय परिचयपत्र दर्ताका लागि दिक्तेल नै पुग्नुपर्ने खोटाङवासीको बाध्यता हट्यो

इलाका प्रशासन कार्यालय खोटाङले राष्ट्रिय परिचयपत्र दर्ता तथा वितरणको काम सुरू गरेको छ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ, जन्तेढुङ्गा र वराहपोखरी गाउँपालिकाका नागरिकलाई स्थानीयस्तरबाटै राष्ट्रिय परिचयपत्र दिलाउने लक्ष्यका साथ कार्यालयले खोटाङ बजारमा स्थायी दर्ता स्टेसन सञ्चालनमा ल्याइएको हो ।

जिल्लाको पुरानो सदरमुकामसमेत रहेको खोटाङ बजारमा राष्ट्रिय परिचयपत्र दर्ता तथा वितरणको काम सुरू भएपछि दिक्तेल धाउनुपर्ने समस्या समाधान भएको खोटेहाङ गाउँपालिकाका अध्यक्ष उदिमबहादुर राई ‘मुक्ति’ ले जानकारी दिए ।

‘दक्षिणी क्षेत्रका स्थानीय बासिन्दाका लागि परिचयपत्र बनाउन दुई दिन लगाएर सदरमुकाम दिक्तेल पुग्नुपर्ने अवस्था थियो । ढिलै भए पनि त्यो समस्या समाधान भएको छ । शुक्रबारदेखि इलाका प्रशासन कार्यालयमै नयाँ दर्ता तथा पुरानालाई वितरण कार्य सुरु भएको छ,’ उनले भने, ‘अब फोटोसहितको मतदाता नामावली सङ्कलन र ई-पासपोर्ट (राहदानी) को काम पनि सुरू गर्ने तयारीमा छौँ । यी दुवै कामको विषयमा मन्त्रालयसँग कुरा भइसकेको छ । जिल्ला प्रशासन कार्यालयले पत्र लेख्नासाथ त्यो पनि सञ्चालनमा आउँछ ।’

स्थायी दर्ता स्टेशन सञ्चालनका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक जना तालिम प्राप्त कम्प्युटर प्राविधिक र इलाका प्रशासन कार्यालयले करारमा थप एक दर्ता सहायक नियुक्त गरेको अध्यक्ष मुक्तिले जानकारी दिए । कार्यालयमा सञ्चालन गरिएको उक्त दर्ता स्टेशनको प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री रामकुमार राई ‘पासाङ’ ले औपचारिक रूपमा उद्घाटन गरेका थिए ।

गाउँपालिकाका अध्यक्ष मुक्ति, प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनार, गाउँपालिकाका उपाध्यक्ष रुपेश राई, जन्तेढुङ्गा गाउँपालिकाका उपाध्यक्ष खेमबहादुर खड्का, बराहपोखरी गाउँपालिकाका उपाध्यक्ष भुवलराज राईलगायतको उपस्थितिमा दर्ता स्टेशन स्थापना गरिएको थियो । स्थापनाको पहिलो दिन नै १० जना स्थानीयले सेवा लिएका छन् ।

खोटाङ बजारमा फोटोसहितको मतदाता नामावली सङ्कलन तथा ई-पासपोर्ट भर्ने र वितरण गर्ने वातावरण मिलाउन कार्यालय फर्किएलगत्तै सम्बन्धित मन्त्रालयमा अनुरोधपत्र लेख्ने प्रजिअ सुनारले जानकारी दिए । उनका अनुसार दश स्थानीय तह रहेको जिल्लामा अहिलेसम्म राष्ट्रिय परिचयपत्र र फोटोसहितको मतदाता नामावली सङ्कलनको काम घुम्ती शिविरबाहेक सदरमुकाम दिक्तेलस्थित जिल्ला प्रशासन कार्यालयमा मात्रै हुँदै आएको छ ।

राष्ट्रिय परिचयपत्रलाई सरकारले अनिवार्य बनाएपछि यसअघि दूरदराजका स्थानीय बासिन्दा दुई दिनसम्म लगाएर परिचयपत्र बनाउनका लागि सदरमुकाम दिक्तेल धाउन बाध्य थिए ।

राष्ट्रिय परिचयपत्रमा व्यक्तिको नाम, थर, जन्म मिति, लिङ्ग, आमाबुबाको नाम, ठेगाना, नागरिकताको किसिम, पति/पत्नीको नाम, बाजेको नामलगायतका व्यक्तिगत विवरणदेखि औँलाको छाप, आँखाको नानी, परिचयपत्र नम्बर, फोटो, राष्ट्रियता, हस्ताक्षरलगायत विवरण समावेश गरिन्छ । राष्ट्रिय परिचयपत्र नागरिकको वैयक्तिक तथा जैविक विवरण समावेश गरिएको राष्ट्रिय पहिचानसहितको बायोमेट्रिक सुविधायुक्त र बहुउपयोगी प्रमाणपत्र हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर