सिरहामा हतकडी फुस्काएर भागेका थुनुवा २४ घण्टा नबित्दै पक्राउ

सिरहामा हतकडी फुस्काएर फरार भएका एक जना थनुवालाई प्रहरीले २४ घण्टा नपुग्दै पुनः पक्राउ गरेको छ।

कानुनी प्रक्रियाका लागि जिल्ला अदालत लगिएका बाल यौन दुर्व्यवहार आरोपी लहान नगरपालिका-२१ का ३० वर्षीय छोटु सदाय जिल्ला सरकारी वकिल कार्यालयमा मिसिल देखाउने क्रममा हतकडी फुस्काएर भागेका थिए।

फरार उनलाई खोजतलासका क्रममा शनिवार दिउँसो १२:४० बजे कल्याणपुर नगरपालिका-१२, थलहामा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको डीएसपी रवीन्द्रराज पाण्डेले जानकारी दिए।

सदायले बिहीबार सखुवानन्कारकट्टी गाउँपालिका-३ स्थित दिनाजपुर-सरन्सिया भित्री सडकखण्डमा सरन्सियाबाट दिनाजपुरतर्फ पैदल जाँदै गरेकी नाबालिकालाई यौन दुर्व्यवहार गरेको आरोप छ।

यससम्बन्धी सूचनापछि इलाका प्रहरी कार्यालय महेशबारीबाट वरिष्ठ सई यज्ञानन्द साहको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनलाई लहान नगरपालिका-१९, बेताहबाट सोही दिन पक्राउ गरेको थियो।

बिहीबार इलाका प्रहरी कार्यालय लहानका असई विनेश यादवको कमाण्डमा ६ जनाको प्रहरी टोलीले उनीसहित ३ जना थुनुवालाई कानुनी प्रक्रियाका लागि जिल्ला अदालत लिएर गएको थियो।

सोहीबीच सदाय जिल्ला सरकारी वकिल कार्यालयमा मिसिल देखाउने क्रममा कार्यालयको गेट अगाडिबाट हतकडी फुस्काएर फरार भएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *