नेपालमा उत्पादित सबै विद्युत खरिद हुने गरी भारतसँग सम्झौता गर्न इप्पानको सुझाव

स्वतन्त्र ऊर्जा उत्पादनहरूको संस्था, नेपाल (इप्पान) ले नेपालमा उत्पादित सबै विद्युत खरिद हुने गरी भारतसँग सम्झौता गर्न सरकारलाई सुझाव दिएको छ ।

भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा १० हजार मेगावाट विद्युत खरिद सम्झौता हुने चर्चा भइरहेका बेला इप्पानका अध्यक्ष गणेश कार्कीले यस्तो बताएका हुन्।

न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै इप्पानका अध्यक्ष कार्कीले नेपालमा उत्पादित जलविद्युत जोसुकैले लगानी गरे पनि त्यसको खरिद भारतले गर्ने गरी सम्झौता गर्न सरकारसँग आग्रह गरे। उनले बंगलादेशले पनि भारतको बाटो हुँदै दीर्घकालीन रूपमा विद्युत खरिद गर्न पाउने प्रावधान बनाउन पनि सरकारलाई सुझाव दिए ।

तत्कालका लागि बंगलादेशले पनि नेपालसँग ५ हजार मेगावाट विद्युत खरिद गर्न चाहेकाले त्यसको पनि सुनिश्चितता हुने गरी सरकारले भारतसँग सो सम्झौता गर्न उपयुक्त हुने अध्यक्ष काकीको भनाइ थियो । उनले भारतसँग विद्युत खरिद सम्झौता गर्दा नेपालमा कुनै पनि देशले विद्युतमा लगानी गर्न सक्ने वातारण बनाउने कुरामा पनि सरकार अडिग रहनुपर्ने बताए।

नेपालको समृद्धिका लागि सरकारले १० वर्षमा १० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएकाले त्यसका लागि बाह्य लगानी आवश्यक भएको भन्दै त्यसलाई पनि ध्यान दिएर भारतसँग सरकारले सम्झौताहरू अघि बढाउनुपर्ने उनले बताए।

इप्पानले नेपाल सरकारले विद्युत उत्पादनमा जोड दिन सके मात्रै विद्युत खरिदको कामलाई पनि अघि बढाउन सक्ने र समृद्धिको ढोका पनि खुल्न सक्ने जनाएको छ।

अध्यक्ष कार्कीले त्यसका लागि कुनै पनि देशबाट नेपालमा लगानी भित्र्याउने वातावरण निर्माणमा पनि सरकार केन्द्रित हुनुपर्ने बताए। उनले नेपालमा विद्युत उत्पादन र खरिदका लागि उपयुक्त समय भएकाले यस अवसरलाई सरकारले खेर फाल्न नहुने पनि बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *