सीआईबी प्रमुख एआईजी ज्ञवालीमाथि छानबिन गर्न अख्तियारलाई पत्राचार

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने निकट रहेका केन्द्रीय अनुसन्धान ब्यूरो प्रमुख एआईजी श्यामलाल ज्ञवाली उनकै आडमा संगठन नै ध्वस्त बनाउने अभियानमा सक्रिय रहेको चर्चा प्रहरी मुख्यालयमा चल्न थालेको छ ।

प्रहरी महानिरीक्षक दौडमा रहेका ज्ञवाली आफू संगठन प्रमुख बन्न नसकेपछि कहिले भुटानी शरणार्थी प्रकरण त अहिले सुन प्रकरणमा आफूविरुद्व रहेका प्रहरी अधिकारी, राजनीतिक नेतृत्व र संवैधानिक अंगका पदाधिकारीविरुद्ध ‘खुराफात’ मा लागेको आरोप संगठनकै अधिकारीहरूले लगाउने गर्छन् ।

जन्ममिति विवाद र कमजोर कमाण्ड रहेका ज्ञवाली यतिबेला भने आफ्नै तिरले आफैं सिकार हुने अवस्थामा पुगेका छन् । उनले सुन प्रकरणमा अरूलाई सिध्याउन खोलेको ‘फायर’ आफूतर्फ सोझिएको छ ।

अवैध सुन पैठारी तथा संगठित अपराधसम्बन्धी मुद्दामा फरार रहेका जीवन चलाउनेसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख श्यामलाल ज्ञवालीको ‘मिलेमतो’ रहेको भन्दै राज्य व्यवस्था तथा सुशासन समिति र गृह मन्त्रालयमा निवेदन परेको छ । निवेदनमा ज्ञवालीलाई छानबिनको दायरामा ल्याई कानुनी कारबाहीको पनि माग गरिएको छ ।

एआईजी ज्ञवालीमाथि आरोपसहित निवेदन परेपछि यस विषयमा आवश्यक छानबिन गर्नका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पत्राचार गरिएको राज्य व्यवस्था समितिले जानकारी दिएको छ । काठमाडौं बूढानीलकण्ठ–१० कपनका दिनेश पौडेलले यही चैत १३ मा निवेदन दिएका हुन् ।

निवेदनमा ज्ञवालीले फरार चलाउनेसँग पैसा मागेको, चलाउने र ज्ञवालीबीच पटकपटक फोनसम्पर्क भएको, सीआईबीले पक्राउ गर्न लागेको भनी सूचना दिई भाग्न सहयोग गरेको, दुईबीच मिटरब्याजमा पैसा लेनदेन हुने गरेको, ज्ञवालीको सुन तस्करसँग साँठगाँठ भएको र यही क्रममा पटकपटक दुबई गएको, नेपाली नागरिकता नत्यागी प्रहरी कर्मचारीको रुपमा कार्यरत ज्ञवालीले अमेरिकाको ग्रीनकार्ड लिएको जस्ता आरोप लगाइएको छ ।

‘ज्ञवाली हाल नेपाल प्रहरी निकायमा कार्यरत रहेको अवस्थामा नेपाली नागरिकतासमेत त्याग नगरी अमेरिकाको ग्रिन कार्ड लिएको बुझिएको हुँदा नेपाल प्रहरीमा कार्यरत रहन अयोग्य रहने अवस्थामा निजले अवैध सुन पैठारी तथा संगठित अपराधसम्बन्धी मुद्दामा प्रमाण नष्ट गर्नकै लागि भनी केन्द्रीय अनुसन्धान ब्युरोमा कामकाजका लागि शक्ति केन्द्रमा दौडधुप गरी स्थान प्राप्त गरेको भन्ने तथ्य पुष्टि हुन आउँछ,’ निवेदनमा उल्लेख छ ।

आरोपित स्वयं चलाउनेले पनि यही चैत २ मा विभिन्न सञ्चारमाध्यमसँगको कुराकानीमा एआईजी ज्ञवालीमाथि गम्भीर आरोप लगाएका थिए । तत्कालीन आईजीपी बढुवाको प्रतिस्पर्धामा ज्ञवालीले आफूसँग आईजीपी बन्नका लागि भन्दै १ करोड रुपैयाँ मागेको दाबी गरेका थिए । चलाउनेले आफूलाई भाग्न ज्ञवालीले नै सूचना दिएको बताएका थिए । तर, ज्ञवालीले भने चलाउनेले आफूमाथि लगाएको आरोप अस्वीकार गर्दै आएका छन् ।

सोही कारण सीआईबीमा ज्ञवालीको सरुवा पनि विवादमा परेको थियो । रास्वपा सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री भएपछि ज्ञवालीलाई मन्त्रिपरिषद्बाट निर्णय गराएर सीआईबी प्रमुखमा सरुवा गरिएको थियो ।

सुन तस्करी अनुसन्धानकै विषयमा सीआईबीका अधिकारी विवादमा परेपछि ज्ञवालीको सरुवा गरिएको कारण दिइएको थियो । तर, ज्ञवालीमाथि पनि आरोप लागेपछि उनको सरुवा विवादमा परेको थियो ।

यसअघि उमेर ढाँटेर प्रहरी सेवामा प्रवेश गरेको आरोप ज्ञवालीमाथि लागेको थियो । यस विषयमा संसदीय समिति तथा अख्तियारले पनि छानबिन थालेको थियो ।

हाल परेको निवेदनमा पनि ज्ञवालीलाई तत्काल अनुसन्धानको दायरमा ल्याई निलम्बन कानुन बमोजिम अवैध सुन पैठारी तथा संगठित अपराधसम्बन्धी मुद्दा, नागरिकतासम्बन्धी मुद्दा, गैरकानुनी तरिकाले नेपाल प्रहरीमा भर्ना छनोट मुद्दा, नेपाली नागरिकता तथा प्रहरी सेवा नछाडी अमेरिकाको ग्रिन कार्ड लिई अन्य निकायलाई जानकारी नदिई लुकाई छिपाई राखेको मुद्दा, नागरिकताको उमेर विवादसम्बन्धी मुद्दा, सम्पत्ति शुद्धीकरण मुद्दा समेतमा अनुसन्धान गर्न माग गरिएको छ ।

राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले ज्ञवालीमाथि गम्भीर आरोपसहित निवेदन परेको र यस विषयमा यही १४ गते गृहमन्त्री तथा आईजीपी बसन्तबहादुर कुँवरलगायतसँग समितिमा छलफल भएको जानकारी दिए । ‘हामीले एआईजी ज्ञवालीको विषयमा छानबिन र आवश्यक कारबाहीका लागि अख्तियारलाई पत्राचार गरिसकेका छौं । तर, अख्तियारले जवाफ पठाइसकेको छैन,’ उनले पर्दाफासलाई भने, ‘अब केही दिनभित्र पनि जवाफ नआए पुनः ताकेता गर्छौं ।’

प्रतिक्रिया

One thought on “सीआईबी प्रमुख एआईजी ज्ञवालीमाथि छानबिन गर्न अख्तियारलाई पत्राचार

  1. येदि तेस्तो हो भने अब येस्ता भ्रष्ट सबै निकायहरु बिघटन गरेर अर्को नया सम्रचना खडा गरेर कार्य गर्नु बाहेक अर्को कुनै बिकल्प रहेन.
    तर, येदि यो स्वार्थबाट प्रायोजित/नियोजित दुस्प्रचार तथा अहिले देखियेका पित पत्रीकाको स्याम्प्लिङ्ग हो भने अब त्यो तप्कालाई येथासिघ्र खोर भित्र हुल्नु यो मुलुक को लागि र बहुसंख्यक जनताहरु को लागि उपयुक्त होला!!
    जय मात्रीभुमी!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर