प्रत्यक्षतर्फको मतपत्र छपाइ सम्पन्न

आसन्न प्रतिनिधि सभा र प्रदेश सा निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ कार्य सम्पन्न भएको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्षतर्फको आवश्यक सबै मतपत्र छपाइ कार्य सम्पन्न भएको निर्वाचन आयोगले जनाएको हो ।

आयोगले जनक शिक्षा सामग्रीलाई प्रत्यक्ष निर्वाचनतर्फका मतपत्र छपाउन दिएको थियो । आयोगले दिएको २० गतेसम्मको समयसीमाभन्दा दुई दिनअगावै जनक शिक्षा सामग्रीले मतपत्र छपाइ कार्य सम्पन्न गरेको हो ।

शुक्रबार जनक शिक्षा सामग्रीमा मतपत्र छपाइसम्बन्धी अवलोकन गर्दै निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगको २० गतेसम्म मतपत्र छापिसक्नुपर्ने समयावधिभन्दा दुई दिनअगावै सबै मतपत्र छापिएको बताए । उनले ८ करोड ३ लाख ९४ हजार ५ सय मतपत्र छपाइ सकिएको र नमुना मतपत्र २२ लाख गरी कुल करिब ८ करोड २५ लाख मतपत्र छपाइ भएको बताए ।

निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिका संयोजकसमेत रहेका आयुक्त भण्डारीले न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै कर्णाली, सुदूरपश्चिम, लुम्बिनी, गण्डकी प्रदेशमा ढुवानी सम्पन्न भइसकेको र प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा चाँडै मतपत्र ढुवानी हुने बताए । उनले मतपत्र छाप्ने काम चुनौतीपूर्ण रहे पनि समयभन्दा अगावै सबैको सहयोगमा छपाइ कार्य सम्पन्न भएको बताए ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको करिब ४ करोड मतपत्र भने यसअघि नै छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । आयोगको पछिल्लो तथ्यांकअनुसार निर्वाचनमा कुल १ करोड ७९ लाख ८५ हजार ७० जना मतदाता रहेका छन् ।

यी मतदाताहरूले समानुपातिक तथा प्रत्यक्ष दुई प्रणालीका लागि चार वटा मतपत्रमा भोट हाल्नुपर्ने हुन्छ । जस अनुसार आगामी निर्वाचनका लागि करिब ८ करोड मतपत्र आवश्यक पर्छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *