चुनावी प्रचारमा हेलिकप्टरको प्रयोगमा गम्भीर बन्न गृह मन्त्रालयलाई निर्वाचन आयोगको निर्देशन

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन प्रचारप्रसारमा हेलिकप्टरको प्रयोगको विषयलाई लिएर गृह मन्त्रालय संवेदनशील बन्नुपर्ने बताएका छन्।

आइतबार निर्वाचन आयोगमा भएको निर्वाचन आचारसंहिता कार्यान्वयनसम्बन्धी एकीकृत कार्ययोजना,–२०७९ माथिको छलफल कार्यक्रममा उनले हेलिकप्टरको प्रयोगको विषयमा गृह मन्त्रालय संवेदनशील बन्नुपर्ने बताएका हुन्।

उनले चुनावको प्रचार गर्न बिरामी भएको नाटक गर्ने गरेको उजुरी आएकाले त्यसतर्फ संवेदनशील बनेर काम गर्न गृह मन्त्रालयलाई निर्देशन दिए। प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगमा बिरामीको नाटक गरी चुनावी प्रचारप्रसार गरेका दुईवटा उजुरी आएकाले आयोग कारबाहीको लागि अग्रसर रहेको बताए।

उनले निर्वाचन आचारसंहितामा ७२ घण्टा हेलिकप्टर उडाउन पाउने उल्लेख गरेका कारण संखुवासभामा चुनावी प्रचारमा समय गनेर नै ७२ घण्टामा विभिन्न १० ठाउँमा चुनावी प्रचारप्रसार गरेको पाइएकाले गृह मन्त्रालय गम्भीर बन्नुपर्ने देखिएको बताए।

प्रमुख निर्वाचन आयुक्त थपलियाले आसन्न निर्वाचनमा हालसम्म भौतिक उपस्थितिसहितको आचारसंहिता उल्लंघन कम रहे पनि सामाजिक सञ्जालमा भने निर्वाचन आचारसंहिता उल्लंघन बढेको बताए। उनले सामाजिक सञ्जालबाट आचारसंहिता उल्लंघन गर्नेहरूलाई कारबाही गरिरहेको भन्दै सामाजिक सञ्जालको प्रयोग गर्दा संवेनशील बन्न सबैको ध्यानाकर्षण गराए।

प्रमुख निर्वाचन आयुक्त थपलियाले मिथ्या सूचनाबाट निर्वाचन फरक ढंगले प्रभावित हुने स्थिति देखिएको भन्दै आचारसंहिताका सन्दर्भमा अरूलाई लक्षित गरेर कुरा गर्ने, चरित्र हत्या गर्ने, अपमान गर्ने, घृणा फैलाउने गतिविधि नगर्न सचेत गराए। उनले यसपटकको निर्वाचनमा धेरैजसो आचारसंहिता उल्लंघनका घटना टिकटकबाट भइरहेको बताए।

प्रमुख निर्वाचन आयुक्त थपलियाले यसपटकको निर्वाचनमा मौन अवधि नरहेकाले निर्वाचनअघिको ४८ घण्टाको समयलाई कसरी व्यवस्थित बनाउने भन्नेमा आयोगले आवश्यक कार्य गरिरहेको पनि बताए। उनले यसपटक आयोगले मौन अवधि नराखेको तर अहिले प्रचारप्रसार गर्न नपाउने अवधि भनिएकाले सो अवधिमा हुने आचारसंहिताविपरीतका गतिविधि रोक्न आयोग लागिपरेको बताए। उनले नेपालमा प्रचारप्रसारमा गर्न नपाउने अवधिमा मित्र राष्ट्रका सञ्चारमाध्यमहरूबाट प्रचारप्रसार गर्ने गरेको पाइएको भन्दै त्यसलाई कसरी नियन्त्रण गर्ने भन्ने चुनौती आयोगलाई रहेको बताए।

प्रमुख निर्वाचन आयुक्त थपलियाले जिल्लाहरूमा आचारसंहिता उल्लंघन गर्नेमाथि कारबाही गर्न कन्जुस्याँइ भइरहेको भन्दै आयोगको निर्देशनलाई पूर्ण पलना गर्न जिल्ला निर्वाचन आचारसंहिता कार्यान्वयन समितिलाई निर्देशन दिए। उनले आचारसंहिता उल्लंघन गर्नेमाथि अनुनय गर्ने नभई कारबाहीको प्रक्रियामा अघि बढ्न पनि निर्देशन दिए।

प्रमुख निर्वाचन आयुक्त थपलियाले आचारसंहिता उल्लंघन गरेको भनी आयोगमा उजुरी परेपछि स्पष्टीकरण सोधिएका व्यक्तिहरूलाई जवाफसहितको फेहरिस्त मागेर कारबाही गर्नुपर्ने बताए। प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आयोगको कारणबाट निर्वाचन महँगो नभएको जिकिरसमेत गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *