कांग्रेसबाट सभामुखमा ईश्वरी न्यौपानेको मनोनयन दर्ता

नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले सभामुखमा उम्मेदवारी दिएकी छन्।

बुधबार अपरान्ह नयाँ बानेश्वरस्थित संसद भवन परिसर पुगेर उनले सभामुखमा मनोनयन दर्ता गराएकी हुन्।

उनको प्रस्तावकमा कांग्रेस महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शर्मा र समर्थकमा कांग्रेस मुख्य सचेतक रमेश लेखक र नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वाला छन्।

कांग्रेस सांसद न्यौपाने कैलालीकी हुन्। उनी कांग्रेस केन्द्रीय सदस्य हुन्। उनले लामो समय महिला संघमा काम गरेकी थिइन् भने महिला विभाग प्रमुख भएर पनि पार्टीमा काम गरेकी थिइन्। उनी सभापति शेरबहादुर देउवानिकट हुन्।

कांग्रेस पदाधिकारी र संसदीय दल बैठकले सभामुखमा न्यौपानेलाई उठाउने बुधबार निर्णय गरेको थियो। सभामुख चयनका लागि बिहीबार बिहान ११ बजे प्रतिनिधि सभा बैठक बस्दैछ।

कांग्रेसले जसपा, एकीकृत समाजवादी र लोसपालगायत दलसँग छलफल गरेर सभामुखमा समर्थन जुटाउने तयारी गरेको छ। बुधबार दिउँसो कांग्रेस संसदीय दलमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सांसद प्रकाश ज्वाला छलफलका लागि पुगेका थिए।

साथै सभापति देउवा निवास धुम्बाराहीमा बुधबार बिहान एकीकृत समाजवादी अध्यक्ष नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँग सभापति देउवाले छलफल पनि गरेका थिए।

प्रतिनिधि सभामा कांग्रेसका ८९, जसपाका १२, एकीकृत समाजवादीका १० र लोसपाका ४ जना सांसद छन्।

सभामुखका लागि बुधबार नै नेकपा एमालेका सांसद देवराज घिमिरेले पनि उम्मेदवारी दिएका छन्। उनलाई सत्ता साझेदार दलहरूको समर्थन छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर