दिक्तेल बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा स्वतन्त्र समूहको मैत्रीपूर्ण उपस्थिति

आसन्न चैत्र ५ गते त्रिभुवन विश्वविद्यालय मातहतका सम्पूर्ण आङ्गिक तथा सम्बन्धनप्राप्त क्याम्पसहरूमा एकसाथ स्ववियु निर्वाचनको तयारी हुँदैछ । प्रत्येक दुई दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन समयमा हुन नसकेको जटिल अवस्थामा त्रिभुवन विश्वविद्यालयको यो निर्वाचन कार्यतालिकाले धेरै विद्यार्थी नेताहरूहरूलाई एउटा उत्साह र अपेक्षाको दियोमा तेल थपिदिएको छ भने कहीँ स्ववियु निर्वाचन स्वतन्त्र उमेदवारी तथा गैरराजनीतिक समूहहरूको हस्तक्षेपपूर्ण उपस्थितिका कारण थप पेचिलो बनेको छ । स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका, २०७९ ले संघ, संगठन, संयुक्त प्यानल वा समूह तथा स्वतन्त्र उमेदवारी मनोनयन गराएर निर्वाचनमा सहभागी हुन सकिने स्पष्ट व्यवस्था गरे पनि वर्षाैं वर्ष समय खर्चिएर विद्यार्थी आन्दोलन र पार्टी भन्दै दलीय भातृ संगठनमा लागेका विद्यार्थी नेताहरूलाई स्वतन्त्र तथा समूहगत उमेदवारी किन पाच्य हुन्थ्यो र ? उनीहरू आफ्नो अवसर किन गुमाउन चाहान्छन् र ?

खोटाङको दिक्तेल बहमुखी क्याम्पस यतिबेला यो प्रसङ्गको सान्दर्भिक उदाहरण बनेको छ । उक्त क्याम्पसका जागरुक र चेतनशील विद्यार्थीहरूले ‘स्वतन्त्र विद्यार्थी नवीन पाइला अभियान’ नामक समूह नै निर्माण गरेर आगामी स्ववियु निर्वाचनमा भातृ संगठनहरूसँग प्रतिस्पर्धा गर्दैछन् । विश्वविद्यालयहरू राजनीतिक दबाब र प्रभावबाट अलग्गै रहनुपर्छ भन्ने उनीहरूको मुख्य एजेन्डा हो । विश्वविद्यालयभित्रको बेथितिको भण्डाफोर गरी समतामूलक तथा व्यावहारिक शिक्षा प्राप्ति गर्न उनीहरू संघर्षरत छन् । उनीहरूको नारा नै ‘रोकौं विश्वविद्यालयमा फोहोरी राजनीतिको नाली : गुणस्तरीय शिक्षासँगै हिडौं नवीन पाइला यसपालि’ भएको उक्त समूहका तर्फबाट स्ववियु अध्यक्ष पदमा उमेदवारी दिएका विद्यार्थी पारस विराटले बताए । हुन पनि प्रदूषित राजनीतिले यो देशका गरिमामय संस्थाहरू क्रमशः मक्किँदै गइरहेका छन् । त्रिभुवन विश्वविद्यालयभित्रका क्याम्पसहरू त झन् यसको मुख्य शिकार नै भएका छन् । विद्यार्थी संगठनको तालाबन्दी, हड्ताल र संगठन विस्तारहरूले कक्षाकोठा प्रभावित हुन्छन् । परीक्षाको नतिजा वर्षाैं आउँदैन । विद्यार्थीहरू महँगाे शुल्क तिरेर गुणस्तरहीन शिक्षा लिन बाध्य भएका छन् । दिक्तेल बहुमुखी क्याम्पस पनि उल्लेखित समस्याहरूले थला परेको छ भन्दै अब क्याम्पसले कुनै हालतमा नवीन पाइला हिँड्नुपर्ने र त्यो नवीन पाइलाको पहिलो पथ भनेको क्याम्पसमा राजनीतिक अहस्तक्षेप नै हुने उनीहरू बताउँछन् । ‘क्याम्पसमा अन्य समस्याहरू छँदै छैनन् भन्ने पटक्कै होइन तर प्रमुख चाहिँ राजनीति नै हो र सो समाधान हुनासाथ क्याम्पस आफैं बनिहाल्छ,’ उक्त समूहबाट सचिव पदमा उमेदवारी दिएका अर्का विद्यार्थी नेता सोनामहाङ राईले भने ।

‘हामीहरू इमानदार ढंगले स्वच्छ प्रतिस्पर्धामा उत्रिएका छौं । हामीले अनेकन् समस्याहरू झेल्दै, नेता र भातृ संगठनहरूको तीखो प्रहारको मर्यादित र स्वच्छ प्रतिवाद गर्दै आफ्नो एजेन्डा विद्यार्थीसामु राख्नुपर्छ भन्ने ठानेका छौ । हामी स्पष्ट र नवीन ढङ्गले स्ववियु हाँक्न आएका हौं । हामीले कसैमाथि पनि आक्षेप र पूर्वाग्रही भावना राख्नुहुन्न भन्ने हामीलाई थाहा छ, त्यसैले हामी आएका हौं । हामी सचेत रहनुपर्छ भन्ने हाम्रो मान्यता हो,’ कोषाध्यक्ष पदका उमेदवार तथा सो समूहका प्रमुख रणनीतिक योजनाकारमध्येका एक विद्यार्थी नेता विपिन पोखरेलले भने, ‘हाम्रो जागरुक मुभमेन्ट देखेर भातृ संगठनहरू अत्तालिएका छन् । हाम्रै कारण देखाएर निर्वाचन नै नगराउने मनशायमा कतिपय संगठन लागेका पनि छन् ।’ आफूहरूको अपत्यारिलो उदयले उनीहरूको स्वप्नील सपना दिवास्वप्नमा परिणत भएको पनि विद्यार्थी नेता पोखरेलले टिप्पणी गरे ।

क्याम्पसमा स्ववियु निर्वाचनको विषयलाई लिएर भातृ संगठनहरू थप सोच्न बाध्य भएका उनी बताउँछन् । ‘स्वतन्त्र विद्यार्थी नवीन पाइला अभियान’ नामक गैरराजनीतिक समूह भातृ संगठनहरूको टाउको दुखाइको विषय बनेको उनले बताए ।

चुनावमा विद्यार्थीका हकहितका मुद्दा उठाउने भन्दै चर्को भाषणबाजी गरेर भोट अपिल गर्ने तर बाँकी समय पूर्णतया मौन रहने विद्यार्थी नेता भनिएकाहरू र तिनका नाम मात्रैका विद्यार्थी संगठनको बीचमा उदाएको यस अभियानले यस निर्वाचनमा जित हासिल गरे ‘राजनीतिक अखडा’ बनेको विश्वविद्यालय र मातहतका आङ्गिक क्याम्पस यसबाट मुक्त हुने आशा पलाएको अभियानका उम्मेदवारलाई भोट दिने मनस्थिति बनाएका एक विद्यार्थीले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *