समिट अपार्टमेन्ट प्रकरण : बाटो पनि भासिन थालेपछि स्थानीय त्रसित

ललितपुरको बखुण्डोलमा निर्माणाधीन समिट होटल एण्ड रेजिडेन्सेस्का कारण बस्ती वरपरका बाटो पनि भासिन थालेको छ ।

दुई साताअघि समिट अपार्टमेन्ट निर्माणका लागि खनिएको खाडलका कारण केही घर भासिनुका साथै केही भत्किएका पनि थिए । त्यसयता घर भासिने डरमा रहेका बासिन्दा अहिले बाटो भासिँदा झनै चिन्तित बनेका छन् ।

याे पनि – नक्सापास नगरी काम गरेको समिटको स्वीकारोक्ति, कडा कारबाही गर्न स्थानीयको माग

स्थानीयको विरोधका बाबजुद र मानवीय तथा भौतिक क्षति हुनसक्ने सम्भावनालाई जान्दाजान्दै पनि निर्माणकर्ताले जबर्जस्ती सो क्षेत्रमा अपार्टमेन्ट निर्माण थालेका थिए ।

पुरानो समिट होटल भत्काएर सम्भ्रान्त वर्गलाई लक्षित गरेर निर्माण गर्न लागिएको उक्त अपार्टमेन्ट र होटलका लगानीकर्ता हुन्, नेपालका डलर अर्बपति, चौधरी ग्रूपका प्रमुख तथा कांग्रेस सांसद विनोद चौधरी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष, पूर्वमन्त्री तथा एनई समूहका अध्यक्ष रविभक्त श्रेष्ठ र अमृतरत्न शाक्य ।

याे पनि – समिट अपार्टमेन्ट प्रकरण : नक्सापासविना काम थाल्ने लगानीकर्तालाई के हुन्छ कारबाही ?

१६ हजार १९१.१५ वर्गकिलोमिटरमा निर्माणाधीन उक्त अपार्टमेन्ट र होटलमा करिब ६ अर्ब रुपैयाँ लाग्ने अनुमान छ, जहाँ १३० कोठाको पाँचतारे होटल, १६० युनिट लक्जरी अपार्टमेन्ट हुनेछन् । त्यसका लागि ७ देखि १६ तलासम्मका ७ वटा संरचना बनाइने योजना छ ।

व्यवसायी तथा सांसद चौधरी र अन्य व्यापारीले शक्ति र पैसाको आडमा निर्माण अघि बढाएको स्थानीयको आरोप छ, जसका कारण अहिले यो दुर्घटना निम्तिएको उनीहरु बताउँछन् । कमजोर माटो रहेको जमिन र बाक्लो बस्ती रहेको कारण देखाउँदै स्थानीयले अपार्टमेन्ट बनाउन नहुनेमा जोड दिँदै आए पनि बलमिच्याइँ भएको आरोप लगाएका छन् ।

याे पनि – समिट अपार्टमेन्ट प्रकरण : पैसा र शक्तिको आडमा ठूला व्यापारिक घरानाले बलमिच्याइँ गर्दा क्षति !

ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले घटनाको छानबिन गरेर निर्माणकर्तालाई कारबाही गर्ने प्रतिबद्धता जनाए पनि हालसम्म कुनै कारबाही भइसकेको छैन ।

ललितपुर महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले हाल अपार्टमेन्ट निर्माणको काम रोकिएको र खनिएको खाल्डो पुर्न लगाइएको पर्दाफासलाई बताइन् । ‘हामीले काम रोक्न लगाएका छौं, तत्काल निर्माण अघि बढ्दैन,’ उनले भनिन्, ‘अरु कारबाहीको प्रक्रिया पनि अघि बढाउँछौं ।’

याे पनि – हाेटल समिटले बनाउँदै गरेकाे नयाँ भवनका कारण छिमेकका घरहरू भासिए (फाेटाे फिचर)

भवन निर्माण अनुमति तथा इजाजत सम्बन्धी कार्यविधि सम्बन्धित पालिकाले बनाउनुपर्ने हुन्छ । त्यसको अभावमा भवनसम्बन्धी स्थानीय तहको ऐनअनुसार ५ लाख रुपैयाँसम्म जरिवाना हुने शाक्यले बताइन् ।

घर भासिएका पीडित, ललितपुर महानगर, ग्रिनविच होटेल र समिट अपार्टमेन्टबीच १२ बुँदे सहमति भएको छ । प्रभावितको समस्या तत्काल सम्बोधन गर्न उपप्रमुख मञ्जली शाक्य बज्राचार्यको संयोजकत्वमा ११ सदस्यीय समिति गठन भएको छ । प्रभावितका लागि १ करोड रुपैयाँको कोष स्थापना गर्ने निर्णय पनि भएको छ ।

याे पनि – समिट अपार्टमेण्ट प्रकरण : पीडितलाई क्षतिपूर्ति दिन र दोषीलाई कारबाही गर्न तोसिमाको माग

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर