आजको मौसम

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

नेपालमा मनसुनी वायुको प्रभावका साथै बङ्गलादेशको उत्तरी भू-भाग तथा आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेकाले बदली र वर्षाको सम्भावना छ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। काठमाडौँ उपत्यकाको आकाश बिहानैदेखि सामान्य बदली छ। दिउँसोतिर हल्का वर्षाको सम्भावना छ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ।

रातिको समयमा पनि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ।

महाशाखाको पछिल्लो विवरणमा काठमाडौँमा ६४ मिलीमिटर वर्षा मापन गरिएको छ। सबैभन्दा धेरै पोखरामा एक सय २०, सिमरामा एक सय १६, जनकपुरमा ७४ र वीरेन्द्रनगरमा ७३ मिलीमिटर वर्षा भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर