संसद अवरोधबारे राष्ट्रपतिको चासो

राष्ट्रपति रामचन्द्र पौडेलले संसद चल्न नसकेको विषयमा चासो राखेका छन्। शुक्रबार संघीय संसदका प्रमुखलाई बोलाएर उनले संसदको जारी अवरोेध खुलाउन भइरहेको प्रयासबारे जिज्ञासा राखेका हुन्।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना राष्ट्रपति पौडेललाई भेट्न शुक्रबार बिहान शीतल निवास पुगेका थिए। बिहान १० बजेदेखि आधा घण्टासम्म भएको छलफलमा संसदको अवरोध खुलाउन भइरहेका प्रयासबारे राष्ट्रपति पौडेलले चासो राखेका हुन्।

सभामुख र राष्ट्रियसभा अध्यक्षले सदनको अवरोध खुलाउन राष्ट्रपतिको सहयोगको अपेक्षा राखेको पनि सभामुखका प्रेस सल्लाहकार अधिकारीले जानकारी दिएका छन्। राष्ट्रपति पौडेलले सदनको अवरोधमा चासो राख्दै हिजो मात्र प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि छलफल गरेका थिए।

राष्ट्रपति पौडेलले लामो समय संसद चल्न नसक्दा जनतामा नैराश्यता बढ्ने र कानून निर्माणमा समेत बाधा पुग्ने भन्दै गतिरोध हटाउन भइरहेको पहलबारे जिज्ञासा राखेका थिए।

राष्ट्रपति पौडेलले सत्ता र प्रतिपक्षलगायत संसदमा रहेका सबै दलहरूलाई विश्वासमा लिएर संसद खुलाउनका लागि आवश्यक पहल गर्न सभामुख घिमिरे र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको ध्यानाकर्षण गराएका थिए।

प्रमुख प्रतिपक्ष नेकपा (एमाले) को अवरोधका कारण संसदको दुवै सदन प्रतिनिधिसभा र र राष्ट्रियसभाको बैठक चल्न सकेको छैन। एमालेले साउन ३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट बरामद एक क्विन्टल सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति गठनको माग गर्दै संसद अवरूद्ध गर्दै आएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर