पशुपति क्षेत्रको भण्डारखालमा काठमाडौं महानगरले चलायो डोजर, व्यापारीको बिचल्ली

काठमाडौं महानगरपालिकाले पशुपति क्षेत्रको भण्डारखालमा डोजर चलाएको छ। महानगरपालिकाले उक्त क्षेत्रमा नक्सा पास नभएको घरहरू भत्काएको हो।

महानगरपालिकाले हिजो २४ घण्टाको लागि सूचना जारी गरेको थियो। र, आज पनि २ घण्टा अगाडि नै सामानहरू हटाउन सूचना दिएपछि डोजर चलाएको हो।

उक्त क्षेत्रमा व्यापार गर्दै आएका स्थानीय सूर्यबहादुर कार्कीले यसरी डोजर चलाएर देशको विकास हुँदैन भन्दै महानगरपालिका प्रमुख बालेन शाहलाई चुनौती दिए।

उनले यसरी डोजर चलाउनु गलत भएको भन्दै पशुपतिमा पाउने पर्यटकको सेवा सुविधा खोसिने तर्क गरे।

उनले भने,‘म बालेन शाहलाई चुनौती दिन चाहन्छु, यसरी प्रगति हुँदैन। भत्काउने भनेपछि भूत सवार हुन्छ उहाँमाथि जस्तो लाग्छ मलाई। कतिपय ठाउँमा राम्रो काम गर्नुभएको छ। मन्दिरमा आउने मानिसलाई खाजा खुवाउँने ठाउँ चाहिँदैन?उहाँको नजरमा राम्रो होला तर सय प्रतिशत ठीक छैन। यसरी देशको विकास हुँदै हुँदैन।’

यस्तै अर्की शटर सञ्चालिका संगीता कालाकोटीले महानगरले एकदमै छोटो समयमा नै घर भत्काएर आफूहरूको बिचल्ली बनाएको गुनासो गरिन्। ठेकेदारहरूले गरेको गल्तीको भागिदार आफू हुनुपरेको उनको गुनासो छ।

उनले भनिन्, ‘ठेकदारले पैसा नबुझाएको र नक्सा पास नभएको रहेछ। हामीले ठेकेदारलाई पैसा तिरेको हो, ठेकेदारले दिएनछ। हामीलाई कम्तीमा ७ दिनको समय दिएको भए सामानहरू सार्न सजिलो हुन्थो। अब यो झरीमा कहाँ जानू, के गर्नू? गाह्रो भयो। नराम्रो लागिरहेको छ साह्रै।’

सबै तस्बिरहरू : नेपाल न्यूज बैंक

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर