८ हजार मिटर उचाइबाट प्याराग्लाइडिङ गर्न सकिने कानूनी व्यवस्था मिलाउँदै छौं : मन्त्री किराती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्वतारोहण क्षेत्रको विकासका लागि ८ हजार मिटर उचाइबाट प्याराग्लाइडिङ गर्न सकिने व्यवस्था राखेर पर्वतारोहणसम्बन्धी नियमावली संशोधन गर्न लागिएको बताएका छन्।

मंगलबार काठमाडौंमा एक कार्यक्रममा मन्त्री किरातीले नियमावली संशोधन गरेर ग्लाइडरका लागि सहज बनाउने बताए। उनले नेपालमा पवर्तारोहण क्षेत्रको विकासका लागि हाल भएको कानून पुरानो भएको र समयानुकूल परिमार्जनको खाँचो रहेको औंल्याए।

मन्त्री किरातीले एक सगरमाथा आरोहीले चुचुरोमा पियानो बजाउँदा दण्डित गर्न बाध्य भएको पुरानो कानूनी प्रावधानलाई स्मरण गर्दै पर्वतारोहण नियमावली संशोधन गर्दा ८ हजार मिटर उचाइको हिमालबाट प्याराग्लाइडिङ गर्न सक्ने व्यवस्था राखेको बताए।

‘हाम्रो ऐनअनुसार एउटा निर्णय गर्नुपर्दा म धेरै दुखी भएँ। एक जना हिमाल चढ्नुभएछ, त्यसपछि हिमालमा गएर गोजीमा लुकाएर लगेको सानो पियानो १२ सेकेन्ड बजाउनुभएछ। त्यसपछि उहाँलाई मुद्दा लागेछ,’ मन्त्री किरातीले भने, ‘मुद्दा लागेपछिको फाइल मन्त्रालयमा आइपुग्यो। ५० हजार जरिवाना तोकिएको रहेछ। मैले भने अरूको देशमा हिमालमा पर्यटकले पाराग्लाइडिङ र स्काइ डाइभिङ गर्छन्। हाम्रोमा पाहुनालाई बजाएकोमा बढीमा सम्झाएर सचेत गरौं तर करबाही गर्न भएन सन्देश नराम्रो जान्छ भनेर फाइलमा दस्तखत गरिनँ। तर,सात दिनपछि डेलिगेसनसहित कारबाही गरिपाऊँ भनेर उहाँ आउनुभयो। लाखौं खर्चेर हिमाल आरोहण गरे, कारबाही नगरे आरोहण गरेको प्रमाणपत्र नपाउने, गाइडको लाइसेन्स खोसिने र एजेन्सीको लाइसेन्स पनि खारेज हुन्छ भने।’

उनले दुई दिन छलफल गरेर न्यूनतम १० हजार जरिवाना गराएर कारबाही गरेको सुनाए। ‘त्यही पीडाले आज हामी सगरमाथाको ८ हजार मिटर उचाइबाट प्याराग्लाइडिङ गर्नेसहितको व्यवस्था राखेर नियमावली संशोधन गर्दै छौं। यो हाम्रो पर्वतारोहण क्षेत्रमा एउटा क्रान्ति हो भन्ने मलाई लाग्छ।’

तर, ८ हजार मिटरको उचाइबााट प्याराग्लाइडिङ गर्ने हो भने त्यसका लागि ऐनमा नै दोब्बर दस्तुर तिर्नुपर्ने व्यवस्था लागू गरिने छ। उनले नयाँ पर्यटन ऐन बनाउँदा संसारभरबाट पर्वतारोहणका लागि आएका पर्यटकलाई ऐन कानूनको समस्या झेल्न नपर्ने गरी सहज बनाउन मन्त्रालय सचेत रहेको दाबी गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर