एआईजी श्यामलाल ज्ञवालीको उमेर विवादमा संसदीय समितिले थाल्यो छानबिन

उमेर विवादमा मुछिएका नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीविरूद्ध संसदीय समितिले छानबिन सुरू गरेको छ ।

एआईजी ज्ञवालीको जन्ममिति विवादबारे उजुरी परेपछि प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले छानबिन थालेको हो । शेरबहादुर चन्दले दिएको उजुरीमा एआईजी ज्ञवालीले उमेर ढाँटेर प्रहरी सेवामा प्रवेश गरी भ्रष्टाचारजन्य काम गरेको आरोप लगाइएको छ ।

उजुरीमाथि प्रक्रिया अगाडि बढाउँदै राज्यव्यवस्था समितिले सात दिनभित्र सत्यतथ्य विवरण उपलब्ध गराउन गृह मन्त्रालयलाई शुक्रबार पत्राचार गरेको छ । ‘जन्ममिति फरक परेको विवादमा के भएको हो, किन छानबिन नभएको हो, सत्यतथ्य सबै विवरण उपलब्ध गराउन अनुरोध छ,’ समितिले गृहलाई गरेको पत्राचारमा भनिएको छ ।

याे पनि : एआईजी श्यामलाल ज्ञवालीको उमेर विवादमा अख्तियारले यसरी गर्दैछ अनुसन्धान

समिति सभापति रामहरि खतिवडाले गृह मन्त्रालयबाट जन्ममिति विवादबारे फाइलसहितको विवरण प्राप्त भएपछि छानबिन प्रक्रिया अघि बढ्ने बताका छन् ।

ज्ञवालीविरूद्ध यसअघि अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उमेर विवादकै उजुरी परेकामा उनले सफाइ पाएका थिए । आयोगले गत वैशाखमा नागरिकता र शैक्षिक प्रमाणपत्रमा कुनै कैफियत नदेखिएको ठहर गर्दै उजुरी तामेलीमा पठाएको थियो ।

धीरजप्रताप सिहंको कार्यकाल सकिएपछि आईजीपीका दाबेदार मानिएका ज्ञवाली उमेर विवादकै कारण पछि हट्नुपरेको ठानिएको थियो ।

ज्ञवालीविरूद्ध डीआईजी हुँदै अख्तियारमा उजुरी परेको हो । उनको भर्ना प्रक्रियामै त्रुटि रहेका कारण रद्दको मागसहित उजुरी परेको थियो । भर्ना मितिमा २५ वर्ष ननाघेको हुनुपर्नेमा ज्ञवालीले उमेर ढाँटेर भर्ना भएको उजुरी परेको थियो ।

नागरिकताअनुसार उनको उमेर प्रहरी निरीक्षकमा भर्ना हुने बेलासम्म २५ वर्ष नाघिसकेको दाबीसहित उजुरी परेको हो । जबकि प्रहरीमा भर्ना हुन २० वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था छ ।

याे पनि : अख्तियारको छानबिनमा प्रहरी महानिरीक्षकका प्रत्यासी ज्ञवाली

जिल्ला प्रशासन कार्यालय प्युठानले २ चैत २०४१ मा जारी गरेको नागरिकता प्रमाणपत्रमा उनी त्यतिबेला १७ वर्ष भएको उल्लेख छ । तत्कालीन प्रजिअ शम्भुप्रसाद खनालले जारी गरेको नागरिकताअनुसार उनको जन्ममिति २०२४ साल हुन आउँछ । नागरितामा जन्म महिना र गते खुलाइएको छैन । प्रहरीका अनुसार नागरिकताकै विवरण मानिने भएकाले उनको जन्ममिति २ चैत २०२४ हुन्छ ।

तर, ज्ञवालीले आफ्नो शैक्षिक प्रमाणपत्र र सिटरोलमा भने जन्ममिति २६ भदौ २०२५ उल्लेख गरेका छन् । नागरिकतामा उल्लेखित जन्ममितिभन्दा यो ५ महिना २४ दिनको फरक पर्छ । ज्ञवाली प्रहरीले जारी गरेको ९ मंसिर २०५० को सूचनाअनुसार प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा भर्ना भएका हुन् ।

इन्स्पेक्टरमा भर्नाका लागि उक्त सूचना जारी भएको मितिमा भर्ना वर्षको वैशाख १ गते २० वर्ष पुगेको र २५ वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ । तर, नागरिकताको जन्ममितिअनुसार उनी त्यतिबेला २५ वर्ष नाघिसकेको देखिन्छन् ।

यी पनि :

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर