‘व्यापार’ बढाउन खोलिएका चिनियाँ नाका ‘सुन तस्करी हब’ बन्दै

नेपाल र चीनबीच व्यापार बढाउन र स्थानीयको सहजताका लागि भन्दै खोलिएका सीमा नाकाहरू सुन तस्करी र अवैध कारोबारका केन्द्र बनिरहेको तथ्य बाहिर आएको छ।

काठमाडौंसँग नजिक रहेका रसुवा, सिन्धुपाल्चोक र दोलखा यतिबेला अवैध सुन कारोबारको केन्द्र बनिरहेको तथ्य बाहिर आएको हो। प्रहरीले फरक-फरक समयमा गरेका कारबाहीमा रसुवा र दोलखा भएर संयौं किलोग्राम सुन तस्करी भएको तथ्य बाहिर आएको छ।

केही दिनअघि मात्र दोलखा प्रहरीले सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनअनुसार ११ किलोभन्दा बढी सुन बरामद भएपनि चिनियाँ तस्करको संलग्नतामा ३३ किलोभन्दा बढी सुन तस्करी भएको खुलेको छ। यस्तै पछिल्ला केही दिनयता रसुवागढी नाकाबाट सुन तस्करी बढिरहेको छ। सुन तस्करी गरेको आरोपमा पछिल्लो पटक तीन जना पक्राउ परेका छन्। केरूङबाट ल्याइएको १२ तोला सुनका औंठी रसुवागढी नाकामा तैनाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कर्मचारीसहितको गस्तीले पक्राउ गरेको हो।

यसरी पक्राउ पर्नेमा रसुवाको आमाछोदिङ्मो गाउँपालिका-५ गोङगाङ बस्ने २९ वर्षका सुरेश तामाङ, आमाछोदिङ्मो गाउँपालिका-५ तातोपानी निवासी ३७ वर्षका निमाटासी तामाङ र गोसाइँकुण्ड गाउँपालिका-३ बृद्धिम बस्ने २३ वर्षका ङवाङ लोप्चन तामाङ रहेको जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले जानकारी दिए।

उनीहरूको साथबाट १३ लाख ८८ हजार चार सय रूपैयाँ बराबरको सुन बरामद गरी कानुनी कारबाहीका लागि भन्सार कार्यालय टिमुरेमा बुझाउने तयारी भइरहेको प्रहरी प्रमुख बुढाथोकीले जानकारी दिए।

याे पनि : सुन तस्करीको ‘रूट’ बुझ्न रसुवा पुग्यो जाँचबुझ आयोगको टोली

गत आइतबार १४ लाख ९१ हजार छ सय ८२ रूपैयाँ बराबरको सुनका औंठीसहित तीन जनालाई पक्राउ गरी भन्सार कार्यालय बुझाइसकिएको प्रहरीले बताएको छ। अवैध रूपमासुन बोकी ल्याउने काम नगर्न नगराउन नेपाल प्रहरीले व्यापारीदेखि सर्वसाधारण सबैमा अनुरोध गरेको छ।

यता, जिल्ला प्रहरी कार्यालय दोलखाले सार्वजनिक गरेको सुन तस्करी प्रकरण अनुसन्धान प्रतिवेदनअनुसार १० असोजमा बरामद ११ किलो ५३२.०३८ ग्राम सुन र नगद १८ लाख ३३ हजार ५०० रूपैयाँ विस्तृत अनुसन्धानमा यो समूहले करिब ११ महिनामा ३१ करोड एघार लाख सत्तरी हजार चार सय रूपैयाँ बराबरको सुन तस्करी गरेको खुलेको छ।

दोलखा प्रहरी प्रमुख डीएसपी दीपक खड्काका अनुसार यो प्रकरणमा चीनको सिचुआन घर भएर काठमाडौंको किमडोल बस्ने चिनियाँ नागरिकद्वय ६६ वर्षीय तासिदावा भन्ने आकर ५४ वर्षीय टासी भन्ने गेङ रू, दोलखाको बिगु गाउँपालिका-१ घर भई काठमाडौंको बौद्ध बस्ने ५५ वर्षीय नुर्वु छिरिङ शेर्पा, बिगु गाउँपालिका-१ बस्ने १८ वर्षीय पेम्बा तामाङ, सोही स्थानका ३९ वर्षीय च्याङ्बा भन्ने चस्मान तामाङ पक्राउ परेका छन्।

यस्तै गुल्मीको सत्यवती गाउँपालिका-६ जन्मस्थान भई काठमाडौंको टोखा नगरपालिका-७ ढुंगेधारा, ग्रीनल्याण्ड ६२ वर्षीय सनद प्रधान, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-७ स्थायी घर काठमाडौंको टोखा नगरपालिका-३ झुडोल बस्ने ४५ वर्षीय लालबहादुर तामाङ, बागलुङको बागलुङ नगरपालिका-४ श्रीनगरटोल घर भई काठमाडौंको टोखा नगरपालिका-६ ग्रीनल्याण्ड बस्ने ४४ वर्षीय तिलक विक, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-५ स्थायी घर भई हाल ललितपुरको ललितपुर महानगरपालिका-१२ हस्खामा बस्ने ४८ वर्षीय दीपेन्द्रराज शाक्य पक्राउ परेका छन्।

याे पनि : ३३ किलो सुन तस्करी : २६ जनाको संलग्नता पुष्टि, १५ जना पक्राउ

त्यसैगरी दोलखाको बिगु गाउँपालिका-१ बस्ने ३२ वर्षीय केशर तमाङ, सोही स्थान बस्ने २० वर्षीय माधवकुमार मगर, रसुवाको कालिका गाँउपालिका-३ घर भई काठमाडौंको टोखा नगरपालिका-१० प्रगतिनगर बस्ने ३८ वर्षीय चेतनाथ न्यौपाने, बिगु-१ घर भई काठमाडौं महानगरपालिका-६ बौद्ध, रामहिटी बस्ने ३२ वर्षीया सुनमाला तामाङ, रामेछापको मन्थली नगरपालिका-५ हाटेचौर घर भई काठमाडौं महानगरपालिका-२० भीमसेनस्थान बस्ने ३३ वर्षीया महिमा माझी र एक जना नाबलक पनि पक्राउ परेका छन्।

प्रहरीका अनुसार १२ जना अझै फरार छन् र उनीहरूको खोजी भइरहेको छ।

दोलखाको लामाबगर फलाक नाका हुँदै भित्रिएको ३३ किलो सुनबापतको रकम डलर तथा क्रिप्टोकरेन्सीमार्फत भुक्तानी भएको समेत खुलेको छ। जिल्ला प्रहरी कार्यालय दोलखा र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै सुन तस्करी गर्ने गिरोहलाई पक्राउ गरेपछि अनुसन्धानका क्रममा सो तथ्य खुलेको प्रहरी नायब उपरीक्षक दीपक खड्काले जानकारी दिए।

सुन तस्करीमा संलग्न व्यक्तिको बयान र प्रहरी अनुसन्धानबाट लामाबगरको फलाक नाका हुँदै छ पटकमा ३३ किलो सुन भित्रिएको खुल्न आएको उनले बताए। तस्करको समूहले सुन खरिदबापतको रकम क्रिप्टोकरेन्सी र डलर तथा यार्सागुम्बा र कस्तुरीको बिनासमेत पठाएर भुक्तानी गर्ने गरेको पुष्टि भएको प्रहरी नायब उपरीक्षक खड्काले बताए।

याे पनि : रसुवामा दुई किलो सुनसहित साला-भिनाजू पक्राउ

दोलखा प्रहरी र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अधिकारीसहितको संयुक्त टोलीले करिब दुई महिना लगाएर गरेको अनुसन्धानका क्रममा सुन तस्करको समूहले चिनियाँ तस्करलाई नेपालबाट क्रिप्टोकरेन्सी अर्थात् डिजिटल वालेट प्रयोग गरी दुई अर्ब ९१ करोड ४८ लाख ३२ हजार पाँच सय ९३ युनिट यूएसडीटी भुक्तानी गरेको देखिएको छ। सो युनिट यूएसडीटीको नेपाली कारोबार मूल्य करिब तीन खर्ब ८७ अर्ब रूपैयाँभन्दा बढी हुन आउँछ। नेपालमा क्रिप्टोकरेन्सी यूएसडीटीको कारोबार प्रतियुनिट मूल्य एक सय ३३ रूपैयाँदेखि एक सय ३८ रूपैयाँसम्म अवैध रूपमा कारोबार हुँदै आएको छ।

सुन तस्करी प्रकरणको अनुसन्धानमा सीआईबीबाट खटिएका प्रहरी निरीक्षक रामकृष्ण पाठकका अनुसार सो रकम विभिन्न १२ डिजिटल वालेटको प्रयोग गरी क्रिप्टोमार्फत भुक्तानी गरिएको हो। यसरी भुक्तानी गरिएको रकम सुन तस्करीसँगै अन्य तस्करीसँग पनि जोडिएको हुन सक्ने प्रहरीले आशंका गरेको छ।

प्रहरी अनुसन्धानका क्रममा सुन तस्करको गिरोहले चीनको तिब्बतसँग सिमाना जोडिएको दोलखाको लामाबगरको फलाक नाकाबाट डोरीमा सुन बाँधेर खोला पार गरी तस्करी गरेका थिए। तिब्बतबाट अवैध रूपमा सुन नेपाल भित्र्याई काठमाडौं ल्याएर बिक्री गरेपछि पुनः यहाँबट डलरलाई शिलबन्दी गरी प्याक गरेर लामाबगरको फलाकबाट डोरीमा बाँधेर खोला तारी चिनियाँ नागरिकलाई भुक्तानी गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक पाठकले बताए।

सो समूहले एक वर्षको अवधिमा सात लाख ६० हजार अमेरिकी डलर अर्थात् १० करोड ११ लाख १८ हजार रूपैयाँ डोरीमा बाँधेर खोला तारी चिनियाँलाई भुक्तानी गरेको देखिएको छ। वि. सं. २०७९ मंसिरदेखि कात्तिक ८ गतेसम्म एउटै समूहले छपटक गरी ३३ किलो सुन भित्र्याएको अनुसन्धानबाट खुलेको छ। दोलखाका प्रहरी प्रमुख खड्काले भने, ‘बाह्र जना अझै फरार छन्। उनीहरू पक्राउ परेपछि तस्करीमा संलग्न व्यक्ति थपिन सक्छन् उनीहरूलाई पूरक अभियोग लगाइने छ।’

याे पनि : ११ किलो सुन तस्करी प्रकरणका ‘नाइके’ चिनियाँ नागरिक पक्राउ

प्रहरीले लामाबगरको फलाक नाकाबाट भित्रिएको ३३ किलो सुनमध्ये ११ किलो सुन दोलखाबाट र अनुसन्धानका क्रममा पाँच सय ३२ ग्राम सुनका गहना बरामद गरेको थियो। सो सुनको मूल्य१० करोड ६८ लाख ६८ हजार सात सय ६१ रूपैयाँ बराबर रहेको छ। प्रहरीले सुन तस्करीमा संलग्न व्यक्तिबाट १८ लाख ३३ हजार पाँच सय रूपैयाँ नगद बरामद गरेको थियो भने उनीहरूको नाममा विभिन्न बैंकमा रहेको ३१ लाख ७४ हजार छ सय ६५ रूपैयाँ रोक्का राखेको छ।

दोलखा प्रहरीले सुन तस्करीमा संलग्न मुख्य नाइके चिनियाँ नागरिक गेङ रू र आकर लामासहित १५ जनालाई पक्राउ गरी अनुसन्धान गरेको थियो। तीमध्ये एकज ना बालकलाई हाजिर जमानीमा रिहा गरेको थियो। बाँकी १४ जनालाई हिरासतमा राखी करिब दुई महिना अनुसन्धान गरिएको थियो।

दोलखा प्रहरी र सीआईबीको टोलीले सुन तस्करी प्रकरणको अनुसन्धान पूरा गरी प्रतिवेदनसहित पक्राउ परेकालाई जिल्ला सरकारी वकिल कार्यालय दोलखामा बुझाएको छ। उनीहरूउपर भन्सार ऐन-२०६४, संगठित अपराध निवारण ऐन-२०७०, नेपाल राष्ट्र बैंक ऐन-२०५८, बालबालिकासम्बन्धी ऐन-२०७५ र मुलुकी अपराधसंहिता-२०७४ को दफा ४३ को एकीकृत कसुरमा मुद्दा चलाइने प्रहरीले जनाएको छ।

सुन तस्करीमा संलग्न भई फरार रहेका अन्य १२ जनाको खोजी भइरहेको र उनीहरू पक्राउ परेपछि पूरक अभियोग लिएर जाने प्रहरीका अनुसन्धान अधिकारीले बताएका छन्। सुन तस्करीको अनुसन्धानमा संलग्न सीआईबीका प्रहरी निरीक्षक पाठकका अनुसार क्रिप्टोमार्फत १२ डिजिटल वालेट प्रयोग गरी भएको भुक्तानी सम्भवतः अहिलेसम्मकै ठूलो रकम हो। यो विषय पक्राउ परेकाहरूको डिजिटल इक्विपमेन्टको करेन्सी ल्याब परीक्षणबाट खुलेको हो। क्रिप्टोकरेन्सीको ब्रोकरका रूपमा काम गरेकी महिमा माझीको डिजिटल करेन्सी ल्याबको रिर्पोट आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

यी पनि :

-सुन तस्करीमा वैकल्पिक मार्ग प्रयोग गर्दै तस्कर

 

-बारीमा ढुंगाले थिचेकाे अवस्थामा दोलखाबाट थप ४ किलो सुन बरामद

 

-रोकिएन सुन तस्करी : दोलखाबाट चार किलो सुन बरामद, तीन पक्राउ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर