एउटै वडामा फल्यो तीन करोडको सुन्तला

तनहुँको एक पालिकाको एउटै वडाबाट यो वर्ष करिब तीन करोड रूपैयाँ बराबरको सुन्तला उत्पादन भएको छ । देवघाट गाउँपालिका-३ का विभिन्न ठाउँबाट यस वर्ष उक्त मूल्य बराबरको सुन्तला उत्पादन भएको हो ।

उक्त वडाको नौ वटा टोलमा व्यावसायिकरूपले सुन्तलाखेती भइरहेको छ । गत वर्ष पनि तीन करोड रूपैयाँ बराबरको सुन्तला बिक्री गरेका यहाँका कृषकले अहिले पनि सोही हाराहारीमा सुन्तला बिक्री गर्ने तयारी गरेको सुन्तला उत्पादक कृषक भीमबहादुर थापाले जानकारी दिए ।

यहाँका कृषकको मुख्य आम्दानीको स्रोत सुन्तला बनेको उनको भनाइ थियो । यस वर्ष ५५ लाख रूपैयाँ बराबरको सुन्तला उत्पादन गरेका थापाले भने, ‘धेरै वर्ष पहिला अधियाँ गरेर खानुपर्ने बाध्यता रहेकामा अहिले सुन्तलाले आत्मनिर्भर बनाएको छ ।’ उनका अनुसार सुरूका दिनमा थोरै ऋण माग्दा पनि कसरी तिर्ला भन्ने अहिले आम्दानी देखेर दङ्ग छन् । सुन्तलाखेतीले कृषकको जीवनस्तर बदलिएको छ ।

यो वडाको लुङ्ग्रिङ, छिपछिपे, छापस्वारा, दगरालगायत ठाउँका कृषकले सुन्तला बेचेर मनग्य आम्दानी गरिरहेका छन् । सुन्तला उत्पादनमा जिल्लाकै पकेट क्षेत्रका रूपमा देवघाट परिचित छ । थापाले भने, ‘विगतमा केही पनि अन्नबाली उत्पादन नभएर भोकै बस्नुपर्ने बाध्यता रहेका यहाँका कृषकले यतिबेला सुन्तला बेचेर मनग्य आम्दानी गर्दै आएका छन् । लुङ्ग्रिङमा एउटै घरबाट २० लाख रूपैयाँभन्दा बढीको सुन्तला बिक्री भएको छ ।’

स्थानीय विष्णुकुमार श्रेष्ठले विदेश वा अन्यत्र गएकाहरू पनि गाउँ फर्किएर सुन्तलाखेतीमा लागेको जानकारी दिए । उनले भने, ‘सुन्तला खेतीबाट मनग्य आम्दानी हुन थालेपछि बाहिर भएकाहरु गाउँ फर्किए ।’

छापस्वाँराका डिलकुमार श्रेष्ठले सुन्तलासँगै बाख्रापालनलाई अगाडि बढाएका छन् । यस वर्ष दुई लाख ५० हजार रूपैयाँको सुन्तला बेचिसकेको उल्लेख गर्दै उनले भने, ‘५० वटा बाख्रा पालेको छु । सुन्तला र बाख्रा नै आम्दानीको स्रोत हो ।’ गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले देवघाट सुन्तला उत्पादनमा पकेट क्षेत्रका रूपमा विकास भएको बताए ।

देवघाटमा सुन्तला प्रशस्त उत्पादन भए पनि बजारीकरणका लागि कृषकले समस्या भोगिरहेका छन् । नदी पारी रहेको लुङ्ग्रिङ, छिपछिपे, छापस्वाँरा, दगरा गाउँलाई राजमार्गसम्म जोड्न त्रिशूली र सेती नदीमा पुल नहुँदा बजारसम्म सुन्तला ढुवानीका लागि समस्या हुँदै आएको सुन्तला कृषकको गुनासो थियो ।

यहाँका कृषकले लुङ्ग्रिङ र छिपछिपेका कृषकले बुद्धसिंह मार्गको नाल्दीघाट र मुग्लिङ-नारागणगढ सडकको गाईघाटसम्म जिपमा राखेर ल्याउने र त्यहाँबाट बोकाएर झोलुङ्गे पुल तारेर राजमार्गसम्म ल्याउने गरेका छन् ।

गाउँपालिकाले सुन्तला उत्पादक कृषकलाई लक्ष्य गरी सुन्तला नर्सरी स्थापना गर्न ३० लाख रूपैयाँ विनियोजन गरेको छ । उक्त नर्सरीमा बिरूवा उत्पादन गरेर इच्छुक किसानलाई निःशुल्क वितरण गरिने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर