जब चन्द्रागिरि केबलकार अचानक बन्द भयो…

मंगलबार चन्द्रागिरिका केबलकार प्राविधिक कारणले बन्द भए । यात्रुहरु पनि आत्तिन थाले । कम्पनीका प्राविधिकहरुले प्रयास त गरे तर केबलकार पुनः सञ्चालन गर्न सकेनन् । त्यसपछि खबर पुग्यो, सशस्त्र प्रहरीलाई । सशस्त्र प्रहरीका अधिकारीले कम्पनीका प्राविधिकहरुसँग मिलेर उद्धारका दुई माध्यम प्रयोग गरी यात्रुको रेस्क्यू गरे ।

माथिको घटना वास्तविक होइन, काल्पनिक हो । तर, यही काल्पनिक घटना वास्तविकतामा भइहाले कसरी उद्धार गर्ने भनेर काठमाडौंस्थित चन्द्रागिरि हिल्सको केबलकारमा ३ दिनसम्म उद्धार अभ्यास आयोजना गरिएको छ ।

सशस्त्र प्रहरी बलले चन्द्रागिरी केबलकार आपतकालीन उद्धार अभ्यास–२०८० मंगलबार सम्पन्न गरेको हो । सशस्त्रको नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय बलम्बु काठमाडौंको आयोजना र चन्द्रागिरी हिल्स प्रालिको सहकार्यमा ३ दिने उद्धार अभ्यास सञ्चालन गरिएको थियो ।

अभ्यासमा दुई वटा फरक–फरक आपत्कालीन अवस्थाको परिकल्पना गरी माथिबाट तल तर्फ र माथिबाट दाँया वा बाँया सुरक्षित स्थानतर्फ क्याबिनमा सवार यात्रुहरुलाई रोप रेस्क्यु प्रविधिको प्रयोग गरी उद्धार गर्ने प्रविधिहरुको प्रदर्शन गरिएको थियो ।

कार्यक्रमको उद्देश्य नेपालमा उदीयमान केबलकार प्रविधिमा हुन सक्ने जुनसुकै आपतकालीन अवस्थामा उद्धार तथा व्यवस्थापनका लागि सशस्त्र प्रहरी बल, नेपाल र केबलकार सञ्चालकहरुबीच आ–आफ्नो मानव संसाधन, स्रोतहरुको अवस्था, सामथ्र्य एवं दुई संस्थाहरु बीचको सहकार्यलाई प्रभावकारी बनाउँदै समग्र केबलकार प्रविधिलाई पूर्णतः सुरक्षित बनाउनु रहेको थियो ।

उद्धार अभ्यासमा पशुपतिनाथ बाहिनी मुख्यालयको तर्फबाट सशस्त्र प्रहरी नायब उपरीक्षक कमलबहादुर अधिकारीको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त २६ जना र चन्द्रागिरी हिल्सको तर्फबाट मेकानिकल इन्जिनियर मधुकर बलामीको कमाण्डमा ८ जना गरी जम्मा ३४ जना उद्धारकहरु सहभागी थिए ।

कार्यक्रममा प्रमुख अतिथि पशुपतिनाथ बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक पुरूषोत्तम थापा, बिशिष्ट अतिथि चन्द्रागिरी हिल्सका कार्यकारी निर्देशक अरुण प्रधान, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रतिनिधि, उपत्यकास्थित स.प्र.बल, नेपालका गणहरु तथा गुल्मका प्रमुखहरु, स्थानीय जनप्रतिनिधिलगायत सहभागी थिए ।

प्रतिक्रिया

One thought on “जब चन्द्रागिरि केबलकार अचानक बन्द भयो…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर