तटस्थ र निष्पक्ष भएर काम गर्छु : उपाध्यक्ष घिमिरे

राष्ट्रियसभाका नवनिर्वाचित उपाध्यक्ष विमला घिमिरेले उपाध्यक्ष साझा पद भएकाले सबैलाई मिलाएर तटस्थ र निष्पक्ष भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

राष्ट्रियसभाको आजको बैठकबाट निर्वाचित भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उपाध्यक्ष घिमिरेले उपाध्यक्षको भूमिकालाई लिएर हुँदै आएका टिक्काटिप्पणी र मनोविज्ञानलाई चिर्दै क्रियाशीलताका आधारमा पदको गरिमा स्थापित गर्ने बताइन् ।

‘संविधान र नियमावलीले दिएको भूमिकाभित्र रही थप क्रियाशील हुनेछु । राष्ट्रियसभामा महिला सदस्य सशक्तिकरणका विषयमा पनि मेरो भूमिका रहनेछ’ उनले भनिन् ।

उपाध्यक्ष घिमिरेले आफूले प्राप्त गरेको उपाध्यक्ष पदलाई सानो वा ठूलो भनी मूल्यांकन गर्न नहुने तर्क गर्दै आफूले गर्ने कार्य सम्पादनबाट उदाहरण प्रस्तुत गरी उठेका विभिन्न प्रश्न र मनोविज्ञान बदल्न प्रयास गर्ने अठोट गरिन् । प्राप्त अधिकारको अधिकतम सदुपयोग गर्ने पक्षमा आफू रहेकाले थप अधिकारका लागि चर्चा परिचर्चा गर्न आवश्यक नरहेको उल्लेख गर्दै उनले आवश्यकताका आधारमा नियमावली संशोधन हुने विश्वास व्यक्त गरिन् ।

वामपन्थी खेमामा रही महिला सशक्तिकरणको अभियानमा तीन दशकभन्दा बढी समयदेखि क्रियाशील घिमिरे हाल नेकपा (एमाले) को पोलिटब्यूरो सदस्य हुन् । उनी चार वर्षदेखि राष्ट्रियसभा सदस्यको जिम्मेवारीमा छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर