सरकारी तथ्यांक एकीकृत ‘डाटा सेन्टर’मा आउँदैछ : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी तथ्यांकलाई थप सुरक्षित बनाउन देशभरका सबै स्थानीय तहको तथ्यांक व्यवस्थापन एउटै सफ्टवेयरबाट गर्ने तयारी भइरहेको बताएकी छन्।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सिंहदरबारस्थित मन्त्रालयमा आज उनीसँग गरेको भेटमा सरकारकी प्रवक्ता शर्माले भनिन्, ‘फरकफरक डाटा सेन्टर हुँदा सरकारी तथ्यांक असुरक्षित देखिएकाले सरकारले आफ्नै सफ्वेयरबाट एकीकृत गर्ने तयारी गरेको छ।’

मन्त्री शर्माले सडकका पोलमा अव्यवस्थित रुपमा रहेका तारलाई व्यवस्थित गर्नका लागि मन्त्रालयले दूरसञ्चार ऐन नै परिमार्जन गरी एउटै तारबाट सेवा प्रवाह गर्न सक्ने व्यवस्था मिलाउने तयारी गरिरहेको जानकारी दिइन्। ‘एउटै तारबाट सेवा प्रवाह गर्नेगरी कानूनी प्रावधान ल्याइँदै छ,’ उनले भनिन्, ‘भूकम्प, बाढीपहिरोजस्ता संकटकालीन अवस्थामा पनि तत्काल सेवा सञ्चालन गर्नेगरी उद्धार टोली बनाउन कानुनमै व्यवस्था गर्न लागिएको छ।’

भेटका क्रममा प्रमुख शाहले नेपालमा सञ्चालित सामाजिक सञ्जालहरू (फेसबुक, ट्विटर, युट्युब र टिकटकलगायत) नेपालमा पनि दर्ता हुनुपर्ने व्यवस्था गर्न मन्त्री समक्ष अनुरोध गरेका थिए। मन्त्री शर्माले डिजिटल साक्षरता अभियान सञ्चालन गर्न स्थानीय तहसँग आग्रहसमेत गरिन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *