सेनामा बेथिति–१: उपरथीकी छोरी–बुहारीलाई लागेन सैनिक नियम *सच्चाईएको

सेनामा आचरण, शुद्धीकरण र विकासको अद्भूत ‘मोडल’ स्थापित गरेको दाबी गर्दै घर बिदामा रहेका प्रधानसेनापति पूर्णचन्द्र थापाले आफूनिकटहरुका लागि सैनिक नियम लागू नहुने नजिर समेत स्थापित गरेका छन् ।

थापाले सेनामा पटक–पटक विवादमा आइरहने एक जना उपसेनानीलाई आफू अवकाशमा जानुअघि मिसन सिफारिस गरेर गएका हुन् । उनले आफू निकट तथा विश्वासपात्र अवकाशप्राप्त उपरथी रघु भण्डारी सुपुत्री रक्षा भण्डारी राणा दम्पतीलाई नै सिरिया मिसनमा सिफारिस गरेर बिदा बसेका हुन् ।

उपसेनानी रक्षाले शक्ति र पहुँचको आडमा पटकपटक लाभ लिइरहेको भेटिए पनि कारबाही हुन सकेको छैन । उनीविरुद्ध विभिन्न विषयमा पटकपटक प्रश्न उठेको र शिकायत तथा उजुरी शाखामा उजुरी परे पनि बढुवादेखि मिसनमा दोहो¥याएर जानेसम्मको अवसर उनैले पाएकी छन् ।

भण्डारी दम्पती त प्रतिनिधि पात्र मात्र हुन् । प्रधानसेनापति थापाको कार्यकालमा भएका र भित्रभित्रै मिलाइएका धेरै यस्ता घटनाको फेहरिस्त पर्दाफासले सप्रमाण फेला पारेको हो । जसले उनको बाहिरी र भित्री अनुहार विस्तारै सबै सामु सार्वजनिक गर्नेछ ।

राणा अवकाशप्राप्त उपरथी तथा हाल राष्ट्रिय सेवा दलमा रहेका रघु भण्डारीकी छोरी हुन् । उनी सेनाका अवकाश प्राप्त उपरथी नवजित शमशेर राणाकी बुहारी हुन् । उनका श्रीमान् देवांश शमशेर जबरा पनि सेनाका मेडिकल अफिसर हुन् ।

यिनै सम्बन्धका कारण उनले पटकपटक लाभ पाइरहेको सैनिक स्रोतको भनाइ छ । त्यति मात्र नभई उनका अन्य गतिविधिका सम्बन्धमा पनि उजुरी पनि परेको छ । तर, त्यसमाथि पनि कारबाही प्रक्रिया अगाडि बढाउन जंगी अड्डाले बेवास्ता गरेको छ ।

प्रधानसेनापतिमा थापाको कार्यकालमै उपसेनानी रक्षाले तालिम र अन्तिम प्रवचनको प्रक्रिया नै पूरा नगरी मिसनमा जाने अवसर पाएकी थिइन् । केही समयअघि तत्कालीन समयमा शिवदल गण शान्ति सेनाबाट उनी लेबनान मिसनमा थिइन् ।

त्यहाँबाट फर्केकी उनलाई पुनः मिसनमा पठाउने गरी निर्णय गर्दै प्रधानसेनापति थापा बिदामा बसेका हुन् । यसले प्रधानसेनापतिको थापाको निर्णयमा पनि प्रश्नचिह्न उठेको सैनिक स्रोतको भनाइ छ ।

यस्तो थियो मिसनमा लफडा

रक्षाका गतिविधिमाथि नेपालमा कार्यरत रहँदा पटकपटक प्रश्न उठ्ने गरेको थियो । तर, उनी पहुँचकै आधारमा कारबाहीबाट बच्दै आएकी थिइन् । यही पहुँचका आधारमा लेबनान मिसनमा पुगेकी उनी त्यहाँ पनि आफ्ना विवादास्पद गतिविधि जारी राखेकी थिइन् ।

उनको गतिविधिमा असन्तुष्टि जनाउँदै तत्कालीन समयमा शिवदल गण शान्ति सेनामा सहभागी पदिक तथा अन्य दर्जाले सेनाको सिकायत जाँच निर्देशनालयमा उजुरी पनि दिएको थियो ।

‘उजुरीको छानबिन गरी राणालाई कारबाही गर्नुपर्नेमा उपरथीको छोरी र बुहारी भएकै कारण प्रधानसेनापति थापाबाट फेरि मिसनमा जान पाउने गरी पुरस्कृत भएकी छन्,’ सेनाका एक उच्च अधिकारीले भने ।

सेनामा मिसनका लागि निश्चित तालिम लिनुपर्छ । अन्तिम प्रवचनपछि मात्र उनीहरुलाई मिसनका लागि पठाइन्छ । तर, लेबनान मिसनका लागि राणाले कुनै तालिम नलिएको उजुरीमा उल्लेख छ ।

त्यसरी मिसनमा गए पनि त्यहाँ आफ्नो क्रियाकलापका कारण उनले सबैलाई अप्ठ्यारोमा पारेकी थिइन् । उजुरीमा उल्लेख भए अनुसार सेनाका अन्य अधिकारीलाई मेडिकलमा जानेसम्मको वातावरण पनि थिएन । कसैले केही भने ‘म कसको छोरी हुँ थाहा छ’ भन्ने र बिरामी भएर मेडिकल जाँदा साइकेटिक बनाएर नेपाल फिर्ता गराइदिन्छु भन्ने गरेको उजुरीमा जनाइएको छ ।

रक्षाको यही गतिविधिबाट आजित भएर तत्कालीन लेबनान मिसनका प्रमुख रहेका कर्णेल चन्द्रप्रकाश चापागाईं आफ्नो जोडाहरुको ग्रूपमा उपरथी भण्डारीविरुद्ध स्टाटस लेखेका थिए ।

कर्णेल चापागाईंले ‘रघु भण्डारी कहिले घर जाने हुन्, त्यसपछि बल्ल हाम्रो पालो आउला’ भन्ने आशयले साथीहरुसँग सोधेका थिए । तर, त्यही सञ्जालमा रहेका चापागाईंका ब्याचीले यो भण्डारीलाई देखाए । नेपाल फर्किएपछि उनीमाथि अनुसन्धान सुरु गरिएको थियो ।

त्यतिबेला अलग अलग मिसनमा परे पनि पहुँचका भरमा लेबनान मिसनमा राणा दम्पतीलाई पठाइएको थियो । उनीहरुलाई काम गराउन अप्ठ्यारो भएपछि कर्णेल चापागाईंले ग्रूपमा उक्त स्टाटस राखेका थिए । तर, रक्षामाथि उजुरीको चाङ लागे पनि कारबाहीका लागि यसअघि प्रधानसेनापति थापा रहँदा जंगी अड्डाले सधैं बेवास्ता गरेको पाइन्छ ।

पर्दाफाससँग सुरक्षित रक्षा बिरुद्ध जंगी अड्डामा परेको उजुरीमा उनले बीएमआई पास, सेनाको मेडिकल अधिकृतमा पास लगायका विषयमा प्रश्न उठेको भन्दै छानबिनका लागि माग गरिएको छ ।

त्यस्तै सेनाको सामग्रीमा पनि अधिकृत रक्षाले भ्रष्टाचार र अनियमितता गरेको आरोप उजुरीमा छ । तर, जंगी अड्डाले भने हालसम्म कुनै कारबाही प्रक्रिया अघि बढाएको छैन ।

उपसेनानी रक्षाविरुद्धको उजुरीको विषयमा सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले अनभिज्ञता प्रकट गरे । ‘उजुरीको बारेमा मलाई जानकारी आएको छैन । त्यसबारे मैले पनि सिकायत जाँच निर्देशनालयमा बुझ्नुपर्छ,’ उनले भने ।

(सच्चाईएकोः यसअघि समाचारमा नेपाली सेनाकी उपसेनानी मेडिकल अफिसर रक्षा भण्डारीका बिषयमा असावधानीवस केही ब्यक्तिगत तथा स्वास्थ्यका बिषयमा उल्लेख गरिएको सन्दर्भ उनको परिवारबाट आएको आग्रहपछि हटाएका छौं । यो समाचारमा उल्लेख भएका बिषयहरु नेपाली सेनाको मुख्यालय जंगी अड्डामा परेको उजुरीका आधारमा लेखिएको हो । पर्दाफाससँग उक्त उजुरीको प्रतिलिपि सुरक्षित छ ।
-सम्पादक )

 

यो पनि पढ्नुहोस्ः

सेनामा बेथिति–७: ‘टेस्टेड एन्ड ट्रायल’ हतियार खरीदको प्रक्रिया रोकेर यसरी भित्रिएको थियो सेनामा कोरियन राइफल

सेनामा बेथिति–६: ‘सेटिङ–शासन’ बिरुद्ध प्रधानमन्त्री, रक्षामन्त्री र सेनापतिलाई उजुरी

सेनामा बेथिति–५: यस्तो छ कल्याणकारीदेखि प्रधानसेनापति कोष रकम हिनामिनाको फेहरिस्त

सेनामा बेथिति–४:सेनापति निकटलाई भ्रष्टाचारमा ‘छुट’, कोअईकै काम किर्ते

सेनामा बेथिति–३ः बेलायतमा देशको नाम राख्ने प्रमुख सेनानी गुरुङलाई अधिकार माग्दा बदेँलको बात

सेनामा बेथिति–२: प्रधानसेनापति राणाले थुन्न आदेश दिएका उपरथी शाही, उमेर सच्याएर रथी बन्ने दाउमा

सेनामा बेथिती– १ : उपरथीकी छोरी–बुहारीलाई लागेन सैनिक नियम

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर