अर्थतन्त्र अफ्ठ्यारो अवस्थामा छ, सबै गम्भीर हुनुपर्छ : अर्थसचिव पुष्कर

अर्थसचिव डाक्टर कृष्णहरि पुष्करले हालको राजस्व नीति र परम्परमगत राजस्व संकलन गर्ने अवस्थामा परिवर्तन नगरे अर्थतन्त्रमा थप अप्ठ्यारो अवस्था आउने बताएका छन्।

मंगलबार अर्थ समितिको बैठकमा मुलुकको विद्यमान आर्थिक अवस्था र चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको समीक्षामा भाग लिएका सचिव पुष्करले समितिमा राजस्व संकलनको पुरानो तरिका परिवर्तन गर्नुपर्नेमा जोड दिए।

उनले भने, ‘अहिले भइरहेको जुन राजस्व नीति छ र जसरी अहिले हामी परम्परागत रूपमा राजस्व उठाउँछौं, त्यो हिसाबले जाँदा हामी अब अप्ठ्यारोमा पर्छौं। त्यसकारण बेलैमा यसतर्फ सोच्नुपर्छ।’

उनले सरकारको राजस्वमा पेट्रोलियम पदार्थ, दूरसञ्चार शुल्क र सेवासँग सम्बन्धित करहरूको योगदान धेरै रहेको र त्यो बिस्तारै घट्दो क्रममा रहेको उल्लेख गर्दै त्यसको विकल्प खोज्नुपर्ने बताए। उनले सरकारले विभिन्न वस्तु तथा सेवामा गरेको कर छुटको प्रभाव आम जनतामा परेको छ कि छैन, राष्ट्रियस्तरबाटै त्यसको समीक्षा गर्नुपर्ने उल्लेख गरे।

साथै अर्थतन्त्र अप्ठ्यारो अवस्थामा रहेको भन्दै राजस्व संकलन र अर्थतन्त्रमा देखिएका समस्याको पहिचान गरी त्यसको सुधार गर्न लाग्नुपर्नेमा उनको जोड छ।

‘समस्याको पहिचान र स्वीकार नगरीकन त्यसको सुधारको प्रस्थानविन्दु सुरू नहुने भएकाले अर्थतन्त्रको अवस्था लुकाउने पक्षमा हामी छैनौं। अर्थतन्त्र अप्ठ्यारो अवस्थामा चाहिँ छ तर हामी संकटकै अवस्थामा पुगेको भने होइन। लगानीयोग्य रकम छ, ब्याजदर पनि केही घटेर आएको छ। अब हामीले धेरै वर्षदेखि विरासतको रूपमा रहेको अर्थतन्त्रको जुन समस्याहरू छन् त्यसबाट फड्को मार्न जरूरी छ,’ पुष्करले भने।

उनले सबै मन्त्रालयले आर्थिक समस्या समाधान गर्न गम्भीर भएर लाग्नुपर्ने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर